मंसिर–२५, विभिन्न माग गर्दै आन्दोलनरत खोटाङका व्यवसायीले चार दिनपछि आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । 
सडक, पुल लगायतका विकासे कार्यक्रमलाई द्रुत र गुणस्तरीयरुपमा सञ्चालन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका खोटाङ यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ र खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधिले चार दिनपछि आन्दोलन फिर्ता लिएका हुन् । 
जिल्ला प्रशासन कार्यालयले आफ्नो मागलाई सम्बोधन गरेकाले आन्दोलन फिर्ता गरिएको व्यवसायीले बिहिबार विज्ञप्तीमार्फत जानकारी दिएका छन् । जिल्लाका व्यवसायीहरु हलेसी–दिक्तेल सडक खण्डमा कालोपत्रेका काम सुरुवात गर्नुपर्ने, जयरामघाटको पक्की पुल चाडो निर्माण गर्नुपर्ने, फोक्सिङटारमा ब्रेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्नुपर्ने, सदरमुकाममा टेलिकमको लाइन बिस्तार गर्नेक्रममा भत्किएको सडक बनाउनुपर्ने, दिक्तेल नगरपालिकामा तत्काल नगर प्रमुख पठाउनु पर्ने लगायतका पाँच बुँदे माग गर्दै सोमबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । 
जिल्ला प्रशासन कार्यालयले दिक्तेल नगरपालिकामा तत्कालै नगर प्रमुखको व्यवस्था गरेको, गुणस्तरीय सडक, पुल निर्माणका बिषयमा महिना दिनभित्र सर्वदलीय–सर्वपक्षीय अन्तरक्रीया गर्ने प्रतिबद्धता जनाएपछि संघर्षका कार्यक्रम फिर्ता लिइएको निर्माण व्यवसायी संघ खोटाङका सचिव कृष्ण घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको व्यवसायीले हो । 
व्यवसायीले कालोपट्टी बाधेर विरोध गर्ने, जिविस र नगरपालिका घेराउ, दिक्तेल बजारमा नाराजुलुस लगायतका संघर्षका कार्यक्रम गरेका थिए । व्यवसायीको आन्दोलनले बृहत रुप लिएपछि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको आग्रहमा प्रशासनमा छलफल भएको थियो ।