मङ्सिर–२६, पूर्वका चार जिल्लाका आचार्य बन्धुहरुले खोटाङ सदरमुकाम दिक्तेलमा कुलपूजा देवाली गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुंगा र उदयपुरका कौडण्य गोत्रभित्रका आचार्य समुदायले शुक्रबार पञ्च माबिको प्रांगणमा सामुहिकरुपमा देवाली पूजा गरेका हुन् ।
देवालीका अवसरमा दुई हजार छ सय १६ वटा बोकाको बली दिइएको छ । आचार्य बाहेक जिल्लाका घिमिरे, पराजुली, बजीमय, दर्जी, धमला र माउण्टएभरेष्ट बोर्डिङ स्कुलले समेत देवालीमा भाकल पूजा गरेका छन् ।
बिक्रम संम्बत् १८१६ सालबाट सुरु गरिएको देवाली पूजाका लागि दिक्तेल, बुइपा, बडकादियाले, दोर्पा, नेर्पा, डुम्रेधारापानी, लफ्याङ लगायत छिमेकी जिल्लाका आचार्य बोको लिएर सदरमुकाम आएका थिए । बिवादका कारण बि.सं. १९९२ सालदेखि फरक–फरक स्थानमा मनाउन थालिएको देवाली युवा तथा समाजको पहलमा पुःन २०६२ सालदेखि एकै ठाउँमा मनाउन थालिएको कुलपूजा आयोजक समितिका सदस्य कुमार आचार्यले बताउनुभयो ।
दिक्तेलमा हरेक तीन–तीन वर्षमा मनाइने देवाली संयूक्तरुपमा मनाईको यो चौथो पटक हो । १६०० सालभन्दा अघि तनहुँबाट दिक्तेल आएका रामचन्द्र आचार्यको बासुदेब र बिरन्ची नामका छोरा जन्मिए । धामी बनेर निस्किएका बिरन्चीको पालादेखि आचार्यको देवाली सुरु भएको दिक्तेलका वृद्ध हरिप्रसाद आचार्यले बताउनुभयो ।
जग्गा मुद्धामा ओखलढुंगा जेलमा थुनिएका बिरन्ची देवाली सुरु भए लगत्तै जेल तोडेर दुई घण्टामै देवाली गर्न दिक्तेल आइपुगेको इतिहास छ । पूजाकैक्रममा आइपुगे स्थानीय राजबर्ने दमाईको सेतो बोको दिने दाजुभाईको सल्लाह अनुसार बिरन्चीलाई राजबर्नेको बोको दिइएको थियो ।
देवाली सकेर पुःन अदालतमा हाजिर हुन गएकामा तत्कालिन सरकारले बिरञ्चीलाई सजायमा छुट दिएको हरिप्रसादको भनाई छ । बिरन्चीलाई बोको दिएकामा हालसम्म राजबर्नेका सन्तानले आचार्यसँगै देवाली गर्दै आएका छन् ।