मंसिर–२९, किराती मिथकमा आधारित चलचित्र ‘बिनायो’ले दर्शकको मन जित्न सफल भएको छ । सदरमुकाम दिक्तेलस्थित मुभिलेण्ड हाईभिजन हलमा आयोजना गरिएको च्यारिटी शो दर्शकको आग्रहमा तीनदिनसम्म सञ्चालन भयो ।
लोप बन्दैगएको किरातीहरुको साकेला शिलीको संरक्षणका लागि आवश्यक कोष खडा गर्न आयोजना गरिएको बिनायोको च्यारिटी शोमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । किरात राई यायोक्खा, किरात राई विद्यार्थी संघ, किरात राई कर्मचारी मञ्च, किरात राई पत्रकार संघ र किरात राई साँस्कृतिक कलाकार संघको सह–आयोजनामा बिनायोको च्यारिटी शो भएको थियो ।
दैनिक बिहान, मध्याह्न र दिउँसोको तीनवटै शोमा दर्शकको बाक्लो भीड लागेको थियो । आयोजक किरात राई यायोक्खाका सचिव अञ्जना राईले भन्नुभयो, ‘च्यारिटी शोबाट आएको रकमबाट हामी अक्षय कोष स्थापना गर्छौँ, त्यो अक्षय कोषको ब्याजलाई शिली संरक्षण र सम्बर्धनमा खर्च गर्ने छौँ ।’
किराती मिथकमा आधारित सम्बाद । गाउँमा छायाङ्कन र नयाँ कलाकार भएको चलचित्र बिनायोले दर्शकको उत्साहजनक साथ पाएको निर्देशक रोशन राईले बताउनुभयो । खोटाङकै धार्मिक तथा पर्यटकीय स्थलहरु तुवाचुङ, तापखोला, रावाखोला, रुपाकोट लगायत किरात गाउँबस्तीमा रहेका पर्यटकीय एवम् ऐतिहासिक स्थललाई कैंद गरिएका कारण चलचित्र हेर्नका लागि जिल्लाबासी उत्सुकतापुर्वक झुम्मिएका थिए । निर्देशक राईले भन्नुभयो, ‘दर्शकको सहभागीताले हामीलाई थप उत्साहित बनाएको छ, आफ्नो कथा, आफ्नो गाउँ–ठाउँ हेर्नका लागि टाढा–टाढाबाट दर्शक आएका पायौँ ।’
किरात ऐतिहासिक पृष्ठभूमीकासाथै जिल्लाको पर्यटन प्रबर्धनमा टेवा पु¥याउने उद्देश्यले निर्माण गरिएको चलचित्रले किराती र गैर–किराती दुबैको प्रशंसा बटुल्न सफल बनेको निर्माता जीतेन राईले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘किराती इतिहास, सँस्कार र सँस्कृति संरक्षणका लागि निर्माण गरिएको बिनायोले जिल्लाको साँस्कृतिक पर्यटनमा योगदान दिन सफल बनेको छ ।’
चलचित्र बिनायोमा मिथक र आधुनिकता दुबैको समिश्रण देख्न सकिन्छ । संगीतकार जीतेन राईको कथा, परिकल्पना र संगीत एवम् रोशन राईको निर्देशनमा बनेको चलचित्रमा सन्ध्या साम्पाङ, एलिसा साम्पाङ, कपिल वान्तवा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र बोर्डबाट जाँच पास पाएको बिनायोले हङकङबाट नेफ्टा अवार्ड प्राप्त गर्न सफल बनीसकेको छ ।
किरात राई समुदायमा तायामा खियामा (दिदीबहिनी) र हेच्छाकुप्पा (भाइ) लाई आदिम पुर्खा मानेर पुज्ने प्रचलन छ । आदिम कालमा उनीहरुले गरेको दुःख र संघर्षलाई किरात समुदायमा अहिले पनि प्रेरणाकोरुपमा लिने गरिन्छ ।
किराती समुदायको मिथकीय पात्रहरु तयामा, खियामा र हेच्छाकुप्पाले नै संस्कार, संस्कृति र खेतीपाती गर्ने सीप सिकाएको किंवदन्ती छ । यिनै किंवदन्तीलाई आधार मानेर चलचित्र ‘बिनायो’ निर्माण गरिएको हो ।