मंसिर–२९, जिल्लाका उत्कृष्ट चार कृषक सम्मानित भएका छन् । दिक्तेलमा सोमबार सम्पन्न छैटौं कृषक दिवस तथा बृहत व्यवसायिक प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी समापनको अवसरमा दिक्तेल–५ का रामकुमार राई, नेर्पा–६ का देवराज रिजाल र लामीडाँडा–५ का कुमार श्रेष्ठलाई सम्मानित भएका हुन् ।
गाउँमा बसेर कृषि क्षेत्रको व्यवसायिक विकासमा योगदान पु¥याएकामा उनीहरुलाई जनही पाँच हजार र कदरपत्रका साथमा सम्मान गरिएको छ । व्यवसायिक तरकारी खेतीका लागि राईलाई, सुन्तला खेतीका लागि श्रेष्ठ र नर्सरी उत्पादनका लागि रिजाललाई सम्मान गरिएको कृषि बिकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।
अतिथि र आयोजककासाथमा सम्मानित कृषकहरु कुमार श्रेष्ठ, देवराव रिजाल र रामकुमार राई (बायाँबाट क्रमशः) । |
यस्तै, अलैंचीका पिताकारुपमा परिचित बाँझेच्यानडाँडा–९ मबुका पर्खनबहादुर राईलाई विशेष सम्मान प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ । उत्कृष्ट किसानलाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा र स्थानीय बिकास अधिकारी महेन्द्र सापकोटाले नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कर्मचारी मिलनकेन्द्रको प्रांगणमा आयोजना गरिएको दुई दिने कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा बिभिन्न अन्नबाली बिद्यामा पहिलो, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्न सफल ४७ किसानलाई पुरस्कृत गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दैआएका कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्नकालागि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो ।
कृषि व्यवसायको सम्मान तथा प्रोत्साहनका लागि जिल्लामा बिगत ६ वर्षदेखि कृषि दिवसको अवसरमा प्रतियोगीतात्मक कृषि मेलाको आयोजना गरिदै आइएको छ । विभिन्न प्रजातिका खाद्यबाली समुह, फलफुल समुह, तरकारी समुह, सागपात समुह, दलहन तथा तेलहन समुह, आलु समुह, मसला समुह, माछा, अलैची, उखु लगायत स्थानीय रैथाने जातका कृषि उपजका एघार स्टलहरु राखिएको कृषि मेला प्रदर्शनीलाई हजारौंले अवलोकन गरेका छन् ।
जिल्ला विकास समिति, कृषि विकास कार्यालय लगायत दर्जन गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा मेलाको आयोजना गरिएको हो ।