पुस–३, अवसर पाएको खण्डमा आफूहरु पनि अरु सरह काम गर्न सक्ने खोटाङका अपाङ्गता भएका व्यक्तिहरुले बताएका छन् । सदरमुकाम दिक्तेलमा आयोजना गरिएको अपाङ्गता सम्बन्धी सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी अपाङ्गहरुले यस्तो बताएका हुन् ।
राज्यले प्रवाह गर्ने हरेक सेवासुविधाबाट आफूहरुलाई वञ्चित गराएको भन्दै आगामी दिनमा अपाङ्गका लागि ठोस योजना ल्याउनुपर्नेमा जोड दिएका छन् । जिल्लामा निर्मित भवन तथा सौचालय अपाङ्गमैत्री नहुँदा आफूहरुलाई समस्या भएको गुनासो गर्दै अब निर्माण हुने हरेक कार्यालय तथा सौचालय अपाङ्गमैत्री हुनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार खोटाङमा पाँच हजार दुई सय २८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । उनीहरुले स्थानीय स्वायत्त साशन २०५५ को दफा १८९ अनुसार स्थानीयस्तरमा बजेटको व्यस्था भएको तर कार्यान्वयन हुन नसकेको प्रति दुःख व्यक्त गरेका छन् ।
अपाङ्ग सेवा संघ खोटाङको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ पूर्वाञ्चल क्षेत्र बिराटनगरको आर्थिक सहयोगमा गरिएको कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । उनीहरुले आगामी दिनमा अपाङ्गका लागि राज्यबाट आउने हरेक सेवासुविधा अपाङ्गकै हितका लागि खर्च गर्ने प्रतिवद्धता जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण पूर्वाञ्चल क्षेत्रका सदस्य चन्द्र राईले गर्नुभएको अपाङ्ग सेवा संघ खोटाङका सचिव कृष्ण आचार्यले जानकारी दिनुभयो ।