पुस – ३, आप्रवासी हकहित संरक्षण केन्द्र खोटाङले आप्रबासी कामदार हित कोष स्थापनाको माग गरेको छ ।
बिदेशमा काम गर्नेक्रममा ज्यान गुमाएका, दिर्घरोगी र अंगभंग भएका कामदारको बालबच्चा तथा परिवारको सहयोगका लागि केन्द्रले आप्रबासी कामदार हित कोषको स्थापनाको माग गरेको हो ।
पन्ध्रौँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आप्रबासी हकहित संरक्षण केन्द्रले बैदेसिक रोजगारमा गएका अधिकांश कामदारहरुको पारिवारिक बिखण्डन भएकाले सोको निराकरणका लागि गाउँ–गाउँमा पारिवारिक व्यवस्थापन र एकीकरणका लागि प्याकेजका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा प्रशासनको ध्यानाकर्षण गराएको छ ।
केन्द्रले उमेर बढाएर नागरिकता र राहदानी बनाउँदै बिदेश पु¥याउने प्रबृत्ति रोक्न जिल्लामा उच्चस्तरिय अनुगमन समितिमार्फत अनुगमनको प्रबन्ध गर्नुपर्ने, गैर–कानूनीरुपमा काम गरिरहेका एजेन्टहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने, अनिवार्य तालिम लिएर मात्र बिदेश जाने व्यवस्था मिलाउनुपर्ने लगायतका ७ बुँदे माग पेश गरेको छ ।
 यस्तै, मेनपावर तथा एजेन्टलाई बुझाइने रकमको अनिवार्य भपाई दिने व्यवस्था गर्नुपर्ने, आप्रबासी तथा मेनपावर एजेन्टबीच बैंकमार्फत रकम कारोबार गर्ने व्यवस्था गर्नुपर्ने, तिनै भपाईको आधारमा ठगिएका कामदारलाई न्यायका लागि प्रमाणको आधार बनाइनुपर्ने माग गरिएको आप्रबासी हकहित संरक्षण केन्द्र खोटाङका सचिव डेगराज आचार्यले बताए । संयुक्त राष्ट्रसंघको महासभाको सन् २००० डिसेम्बरको निर्णय अनुशार हरेक डिसेम्बर–१८ तारिखका दिन मनाउन थालिएको अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा भने सन् २००६ देखि मनाउन थालिएको हो ।
यसैबीच, पन्ध्रौँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सुरक्षित आप्रबासन परियोजना (सामी)ले दिक्तेलमा सरोकारवालासँग अन्तरक्रीया गरेको छ ।