पुस–४, भूकम्पका कारण खोटाङमा एक विद्यालयको भवन भत्किएको छ । बिहिबार राती ९ः१७ बजे सोलुखुम्बुको दोलखा सिमाना क्षेत्र मार्बु भन्ने स्थानमा केन्द्र भएर गएको ४.८ रेक्टर स्केलको भूकम्पको धक्काका कारण बड्कादियालेस्थित देबिस्थान निमाबिको दुई कोठे भवन क्षतबिक्षत बनेको हो । 
नेपालको मध्य तथा पुर्वी क्षेत्रमा महसुस गरिएको सो भूकम्पले विद्यालयको बाल शिक्षा र कक्षा १ सञ्चालन हुँदैआएको भवन भत्किएको प्रधानाध्यपक तिलकबहादुर बस्नेतले बताउनु भयो । भवन भत्किएपछि बाल शिक्षा र कक्षा १ मा अध्यायनरत स–साना बालबालिकालाई शुक्रबारदेखि खुला चौंरमा राखेर पठन–पाठन सुरु गरिएको छ ।
भूकम्पका कारण भत्किएको भवनको पर्खालले कक्षा कोठाभित्रको डेस्क बेञ्च पुरिएको स्थानीय सामाजिक परिचालक रोशन पौडेलले जानकारी दिनुभयो । ‘आधा पर्खाल कक्षा कोठाभित्र ढलेको छ, आधा पर्खाल बाहिरपट्टी ढलेको छ,’ सामाजिक परिचालक पौडेलले भन्नुभयो, ‘पुरिएको डेस्कबेञ्च निकाल्यौँ, तर कोठा पूर्णरुपमा काम नलाग्ने भएको रहेछ ।’ 
विद्यालयको अन्य कक्षा कोठा नभएका कारण अर्को भवन निर्माण नगरेसम्म दुबै कक्षाका बालबालिकालाई संयूक्त कोठा राख्न वा चौंरमै राख्नुपर्ने समस्या आइपरेको प्रअ बस्नेतले बताउनृ भयो । प्रहरीले पनि भवन भत्किएको  पूष्टि गरको छ ।