पुस–४, जिल्ला अदालत खोटाङमा दण्ड जरिवाना वापत १८ लाख राजश्व असुल हुन सकेको छैन । बिक्रम संबत २०११ साल यता बिभिन्न मुद्दा पेश भएर फरार भएका, भगौडा लगायतका आरोपितहरुबाट उठ्नुपर्ने १८ लाख ६ हजार ९९४ रुपैयाँ जरिवाना रकम असुली हुन नसकेको हो ।
कतिपय आरोपितहरु हालसम्म भागीरहेका र बेपत्ता रहेका कारण लामो समयसम्म जरिवाना रकम उठ्न बाँकी रहेको अदालतका श्रेष्तेदार भिष्म भट्टराईले बताउनु भयो । २०११ सालदेखि गत कार्तिक मसान्तभित्रको अवधिमा उनीहरुबाट जरिवाना बाहेक ८ सय १४ वर्ष ९ महिना १६ दिन कैंद सजाय भुक्तान गर्न पनि बाँकी रहेको अदालतले जनाएको छ । उठ्न बाँकी जरिवाना रकम र कैंद भुक्तानका लागि अदालतले हालसम्म फरार रहेका व्यक्तीहरुलाई पक्राउ गर्न अभियान चलाइएको जिल्ला न्यायधिस इश्वरीप्रसाद गौतमले बताउनु भयो । अदालतले आर्थिक वर्ष २०७१।०७२ मा ७३ वटा मुद्दाको फैसला गर्ने लक्ष्य लिएको छ ।
यसैबीच, जिल्ला अदालतले कैंद सजाय तथा जरिवाना तोकिएका व्यक्तीबाट भुक्तान हुन बाँकी रहेको कैद तथा जरिवाना रकम उठाउनका लागि सहयोगको याचना गरेको छ । अदालतले लामो समयअघि कैद तथा जरिवाना तोकिएका व्याक्तीहरुको नामबाट हुने जुनसुकै कार्यलयीय काम नगर्न बरु अदालतमा बुझाएर सहयोग गर्न सबै सरकारी कार्यालयहरुलाई आग्रह गरेको छ । ‘मुद्धा लागेर भागीरहेका आरोपितलाई विशेष निगरानीमा राखीरहेका छौँ,’ जिल्ला न्यायधिस गौतमले भन्नुभयो, ‘अदालतले कैद वा जरिवाना तोकेका व्याक्तीहरुलाई सरकारी सेवा सुबिधाबाट बञ्चित गराइ सहयोग गर्न अनुरोध छ ।’
कैद वा जरिवाना तोकिएका आरोपितलाई अदालतमा ल्याएर बुझाइएमा बुझाउनेले भुक्तानी हुन बाँकी रकमको २५ प्रतिशत रकम पाउने र आरोपित स्वयं भुक्तान हुन बाँकी रकम बुझाउन आएमा २५ प्रतिशत छुट पाउने व्यवस्था भएको अदालतले जनाएको छ ।