खोटाङ साउन–१३, साहित्य तथा गीतसङ्गीत सम्बद्द श्रष्टाहरुको निरन्तर सिर्जनशीलता तथा नियमित जमघटको रुपमा स्थापित ‘अलग अभियान’को साउन श्रृंखला सम्पन्न भएको छ । विशिष्ट श्रष्टा तथा सर्जकहरुको विशेष आतिथ्यमा सञ्चालन हुँदै आएको अभियानको साउन श्रृंखला शनिबार काठमाण्डौंमा सम्पन्न भएको हो । 
फरक र विशेष श्रृंखलाको रुपमा सम्पन्न यो पटकको नियमित श्रृंखलालाई सङ्गीतकार किरण कँडेल र कवि फूलमान वलको उपस्थिती र प्रस्तुतिले विशेष बनाएको थियो । साथमा अन्य साहित्यिक तथा साङ्गीतिक श्रष्टा सर्जकहरुको सिर्जनाले श्रृंखलालाई रौनकता दिएको सहभागी बताउँछन् । 
प्रस्तुतिबीचमा सम्वोधन गर्दै चर्चित सङ्गीतकार कँडेलले गीत–संङ्गीत दुई प्रकारको हुने उल्लेख गर्नुभयो । मन पगाल्ने र तन नचाउने गरी गीत दुई प्रकारको हुने कँडेलको भनाई छ । कँडेलका अनुसार दुवै प्रकारको गीतको जरुरी भए पनि अहिले तन नचाउने गीत बढी भएको उहाँले जनाउनुभयो । यसप्रति कँडेलले चिन्ता समेत ब्यक्त गर्नुभयो । 
कँडेलले आफ्नो साङ्गीतिक जीवनको संस्मरण सुनाउँदै गीत प्रस्तुत गर्दा सहभागी मन्त्रमुग्ध बनेको अलग अभियन्ता अर्थात अलग अभियानको संयोजक कवि नाकिमा नाकिमले सुनाउनुभयो । 
यस्तै, कवि वलले अलग अभियानको सक्रियता र निरन्तरताको प्रशंसा गर्दै केही कविता सुनाउनुभयो । कवि वलले ‘इन्द्रेणी गीत’, ‘भुइँचालो’, ‘आजका मान्छे’, ‘शित लहर’ शीर्षकका कविता सुनाउनभयो । 
कार्यक्रममा कवि रिमा केसी, सरोज अधिकारी, विष्णु सन्यास, प्रेमिला राई र विष्णु सन्यासले कविता सुनाउनुभयो । यता, गायक रेवत राई र कर्ण लामाले गीत सुनाउँदा वाद्यवादनमा मण्डल साम्पाङ र यमकुमार समालले साथ दिनुभएको थियो । 
कविता–गीतको विशेष प्रस्तुतिको रुपमा साङ्केन बान्तावाको शब्दलाई भिमसेना राईको सङ्गीतमा अब्राहम सम र नानु थापा मगरले गायकी दिनुभयो । कार्यक्रमको बिचबिचमा कवि अविनाश भट्टराईको कविताले साँघुको काम गरिरहेको थिायो । 
यसैबीच, ‘अलग’ मासिक प्रकाशनको पहिलो अङ्क पनि सार्वजनिक भएको छ । विशेष अतिथिद्वय सङ्गीतकार किरण कँडेल र कवि फूलमान वलले अलग मासिकको सार्वजानिक  गर्नुभएको हो ।