पुस–७, जिल्लामा यस वर्ष ८० करोड रुपैयाँभन्दा बढिको अलैंची उत्पादन भएको छ । गत वर्ष ६० करोड रुपैयाँको अलैंची निकासी भएको जिल्लामा यस वर्ष ८० करोड रुपैयाँभन्दा बढिको उत्पादन भएको हो ।
गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटेपनि यस वर्ष उत्पादित अलैंचीले जिल्लामा अहिलेसम्मकै बढि मूल्य पाएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ । गत वर्ष प्रतिमन ६० हजारका दरले निकासी भएको अलैंची यस वर्ष ८० हजारभन्दा बढि मूल्यमा किनबेच भइरहेको कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष जिल्लामा चार सय मेट्रिकटन अलैंची उत्पादन भएको छ, प्रतिमन ८० हजारदेखि ९६ हजारसम्ममा बिक्री भइरहेकाले ८० करोडभन्दा बढि नगद जिल्ला भित्रने अनुमान गरेका छौं ।”
कृषि कार्यालयका अनुसार गत वर्ष प्रतिहेक्टर शून्य दशमलव छ मनका दरले अलैंची उत्पादन भएको जिल्लामा यस वर्ष प्रतिहेक्टर शून्य दशमलव पाँच मनका दरले उत्पादन भएको छ । हाल जिल्लामा अलैंची संकलन तथा निकासीका काम भइरहेको कृषकहरुले जनाएका छन् ।
पाहारिलो तथा चिसो जमिनमा हुने अलैंची जिल्लाको आठ सय हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । फेदी, पाथेका, खार्मी, खार्ताम्छा, सुङ्देल, दिप्सुङ, राखाबाङ्देल, बाकाचोल, याम्खा, खिदिमा, टेम्मा लगायत जिल्लाका ३४ भन्दा बढि गाविसमा उत्पादन हुने अलैची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ ।