पुस–७, सरकारले ग्रेड समायोजनमा विभेद गरेको भन्दै खोटाङका शिक्षकले सर्वोच्च अदालतमा रिट निवेदन हाल्ने तयारी गरेका छन् । २०६६ साल साउन–४ गते मन्त्री परिषद्ले गरेको कर्मचारीको तलव–भत्ता समायोजनमा ‘प्रावि तृतीय श्रेणीको भन्दा द्धितीय श्रेणीमा कार्यरत शिक्षकको ग्रेड रकम कम’ भएको भन्दै शिक्षकले सर्वोच्चमा सामुहिक रिट निवेदन हाल्ने तयारी गरेका हुन् ।
जिल्लामा द्धितीय श्रेणीमा बढुवा भएपनि तृतीय श्रेणीकोभन्दा कम ग्रेड पाइरहेका एक सय ३८ शिक्षक कार्यरत छन् । सर्वोच्चमा रिट निबेदन हाल्नका लागि खोटाङमा शिक्षक कृष्णप्रसाद आचार्यको संयोजकत्वमा ११ सदस्यीय शिक्षक ग्रेड समायोजन समिति गठन गरिएको छ ।
‘बढुवा हुनेको भन्दा बढुवा नभइ तल्लो तहमा कार्यरत शिक्षकको तलव बढि’ भइरहेका कारण रिट हाल्नुपर्ने अवस्था आएको शिक्षक ग्रेड समायोजन समितिका संयोजक कृष्णप्रसाद आचार्यले बताउनुभयो । सरकारले २०६६ को बजेट भाषणमार्फत कर्मचारीको तलव बढाएपनि ग्रेड समायोजन नगरेका कारण तलवमा असमानता सिर्जना भएकाले रिट निबेदन दिने तयारी गरिएको पिडित शिक्षकहरुले बताएका छन् ।
उनीहरुका अनुसार २०६२ सालदेखि २०६५ सालअघि प्राबि द्धितीय श्रेणीमा बढुवा भएका शिक्षकको ग्रेड तृतीय श्रेणीको शिक्षकको भन्दा कम कायम भएको ग्रेड समायोजन समितिका सह–संयोजक जसराज किरातीले बताउनुभयो । ग्रेड समायोजनको मागमा यस अघि झापाका पिडित शिक्षकले २०६६ साल असोज–२८ गते सर्बोच्चमा रिट निबेदन हालेका थिए । रिट परेको झण्डै दुई वर्षपछि सर्बोच्चले ५ ग्रेड थपेर तलव मिलाउन २०६८ चैत्र–२ गते आदेश दिएपनि झापा बाहेक अन्य जिल्लामा सो आदेश कार्यान्वयन नभएको उनीहरुको भनाइ छ ।
जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले पीडित शिक्षकको समस्या जिल्ला तहबाट समाधान सम्भव नहुने बताउनुभयो ।