टुवा खोलाको काठे पुल जिर्ण बनेपछि आवतजावतमा समस्या

पुस–२२, खोटाङको सप्तेश्वरछितापोखरी–५ र इन्द्रेणीपोखरी–८ जोड्ने टुवा खोलाको काठे पुल जिर्ण बनेपछि आवतजावतमा समस्या भएको छ । शसस्त्र संघर्ष गरिरहेका तत्कालिन नेकपा माओबादीको सहयोगमा स्थानीयबासीले १३ वर्षअघि निर्माण गरेको काठे पुल मक्किएपछि स्थानीयलाई आवतजावतमा समस्य भएको हो । 
सप्तेश्वरछितापोखरी र इन्द्रेणीपोखरी जोड्ने टुवा खोलाको जिर्ण काठे पुल तर्दै स्थानीय ।
५५ मिटर लम्बाइ भएको पुल जिर्ण बनेपछि सप्तेश्वरछितापोखरी, इन्द्रपोखरी, सिम्पानी, बतासे, डाँडागाउँलगायतका गाविसका स्थानीयलाई आवतजावत गर्न असहज भएको सप्तेश्वरछितापोखरी–४ का गणेश खड्काले बताउनु भयो । ‘काठको पुल मक्किसकेको छ, ओहोरदोहोर गर्न जोमिख मोलेर तर्नुपर्ने अवस्था छ,’ खड्काले भन्नुभयो, ‘पुलको योजना माग गर्दै गाबिस जिबिस परिषदसम्म पुग्यौँ तर हाम्रा कुरा सुनुवाइ भएन ।’ खोला तर्नका लागि झोलुंगे पुल हालिएको ठाउँमा पुग्न दुई घण्टा घुमाउरो पर्नेभएकाले स्थानीयले जोमिख जिर्ण पुलको प्रयोग गर्ने गरेका छन् । ‘यो दुर्दशाको पुल भाँचिएर कुनै न कुनै दिन दुर्घटना हुने निश्चित छ,’ ‘कतिपय खोलाहरुमा अनावश्यक ठाउँमा पुलहरु बनाइएका छन् तर, यो ठाउँमा कहिल्यै पुल बनेन ।’ मक्किसकेको पुल तर्नेक्रममा हल्लिने, धेरै भार नथेग्ने अवस्थामा पुगीसकेको छ । 
टुवा खोलामा पुल नहुँदा स्थानीय बाहेक सिम्पानी पढ्न जाने विद्याथी सबैभन्दा बढि मारमा परेका छन् । हिउँदमा कम्मरसम्म भिजेर तर्न सकिने पछि वर्षामा टुवा खोला तर्न सकिन्न । ‘हिउँदमा जेनतेन खोलो तर्न सकिन्छ,’ खड्काले भन्नुभयो, ‘वर्षा याममा त तर्न सकिने कुरै भएन, बिद्यार्थीलाई खोलोले विद्यालय जानबाट रोक्छ ।’