पुस–२८, खोटाङको दक्षिणी गाविस छितापोखरी–७ का वुद्धिमान राईको पुरातनशैलीमा बनाइएको एक तले घर छ । काठको तख्ताले बाह्रिएको भित्ता, अनि एउटै मात्र साँघुरो कोठा । फुसले छाएको सानो घर छेउमा पक्की सौचालय ।
आफ्नो गाविसलाई आगामी माघ–१५ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन राईले आफ्नो गाँस कटाएर पक्की सौचालय बनाउनुभएको हो । चर्पी बनाउन अघि धेरैको अड्को हुन्छ आर्थिक समस्या । यही समस्या देखाउँदै चर्पी बनाउनबाट पछि हट्दै अभियानमा तँगारो बन्नेहरु धेरै भेटिन्छन् । तर, ईच्छाशक्ति भए जुनसुकै आर्थिकस्तरका नागरिकले पनि चर्पी बनाउन सक्ने राईले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरै लागि हो भनेर मन, वचन र कर्मले लाग्ने हो हामी जो सुकैले पनि बनाउन सक्दोरहेछौँ, ढुङमाटो, काठपात यही ठाउँमा पाइन्छ, श्रम हामी आफै गर्न सक्छौँ ।”
निम्न आर्थिकस्तरका वुद्धिमानको आठ जनाको परिवार छ । आफ्नो जग्गा जमिनबाट उत्पादन हुने अन्नले राई परिवारलाई मुस्किलले तीन महिना पनि खान पुग्दैन । 
दिसापिसाब गर्न हालसम्म बारीको कान्ला र खोल्साको प्रयोग गर्दै आएका राई परिवारले साँझबिहानको गाँस काटेर भएपनि ‘राम्रो’ चर्पी बनाउने निश्चय गरे अनि आफुसँग भएको स्थानीय श्रोतसाधन जुटाएर पक्की सौचालय निर्माण गरेका हुन् । नौं महिनासम्म अर्काको बनिबुतो गरेर ल्याएको अन्न र पैसाले परिवारको गुजारा चलाइरहेका उनी गाउँमा सरसफाईका सन्दर्भमा उदाहरणीय पात्र बनेको छितापोखरीकी सामाजिक परिचालक रविना सुवेदीले बताउनुभयो । 
राईजस्तै छितापोखरी–५ की रमा विश्वकर्माले पनि घरभन्दा आकर्षक देखिने चर्पी बनाएकी छन् । वर्षमा तीन महिना पनि खान नपुग्ने विश्वकर्मा परिवारले अरुभन्दा चाँडो चर्पी बनाएकी हुन् । 
खोटाङको दक्षिणी गाविस छितापोखरी–७ का वुद्धिमान राईको पुरातनशैलीमा बनाइएको एक तले घर छेउमा बनाइएको सौचालय । गाविसलाई आगामी माघ–१५ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गरिने भएपछि धमाधम चर्पी निर्माणको काम भइरहेको छ ।
यस्तै, तीन महिना पनि खान नपुग्ने सोही स्थानकी जानुका विश्वकर्माले पनि चिटिक्क परेको चर्पी बनाइसकेकी छन् । गाउँघरमा बनिबुतो गरेर आएको आम्दानीबाट छ जनाको परिवार धान्दै आएकी जानुकाको ढुङ्गा र माटोले बनाइएको सानो झुपडीको घर छ तर, चर्पी भने पक्की बनेको छ । 
तीन सय ९५ घरधुरी रहेको छितापोखरीमा हालसम्म ८५ प्रतिशत परिवारले चर्पी बनाइसकेको सामाजिक परिचालक सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब १५ प्रतिशतले मात्र चर्पी बनाउन बाँकी छ, उनीहरुले पनि खाल्डो खन्ने र ढुङ्गा फुटाउने काम गरिसकेका छन् ।”
आर्थिक समस्यकै कारण चर्पी बनाउन नसक्लान भन्ने सोचिएका स्थानीयले सोचेभन्दा छिटो चर्पी निर्माण गरेको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा पैसा छैन, चर्पी बनाउन सक्दिन भन्नेहरु भेटिन्छन्, तर यहाँ त्यस्तो छैन, निम्न आर्थिकस्तर भएका परिवारले पनि आकर्षक चर्पी बनाइसकेका छन् ।” 
एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा हालसम्म ११ वटा गाविस खुला दिसामुक्त गाविस घोषित भएका छन् । आगामी चैत्र मसान्तभित्र जिल्लालाई नै खुला दिसामुक्त गाविस घोषणा गर्ने तयारी गरिएको छ ।