माघ–१४, खोटाङको डुम्रेधारापानी गाबिसलाई पुर्णसाक्षर गाबिस घोषणा गरिएको छ । निरक्षर जनसंख्यामध्ये ९५.५ प्रतिशत सर्वसाधारण साक्षर बनेपछि डुम्रेधारापानी गाबिसलाई बुधबार साक्षर गाबिस घोषणा गरिएको हो । औपचारिक शिक्षाबाट बञ्चित बनेका बालबालिका तथा प्रौढहरु गरी ५५८ निरक्षर जनसंख्या मध्ये ५३४ सर्वसाधारण साक्षर बनेपछि डुम्रेधारापानीलाई साक्षर गाबिस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर देबेन्द्रकुमार झाले डुम्रेधारापानीलाई एकैसाथ साक्षर एबं खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् । डुम्रेधारापानी जिल्लाकै चौथो साक्षर गाबिस बनेको छ । यसअघि हौंचुर, लिच्कीराम्चे र सिमपानी गाबिस साक्षर गाबिस घोषणा भइसकेका छन् । 
३ हजार ७१५ जनसंख्या रहेको डुम्रेधारापानीका १६ वर्षमाथिका र ६० वर्षमुनिका निरक्षर सर्वसाधारणले साँवा अक्षर पढ्न र लेख्न सक्ने बनेपछि साक्षर गाबिस घोषणा गरिएको श्रोतव्याक्ती मेघनाथ रिजालले बताए । २०६७ सालदेखि सञ्चालन गरिएको साक्षर अभियान नेपाल अन्तरगत गाबिसका निरक्षर नागरिक एकदेखि सय अंक लेख्न र भन्न, आम्दानी र खर्चको बिबरण राख्न, बैंक भौचर भर्न, मोवाइल चलाउन र क्यालकुलेटर चलाउन, सभासमारोहमा गएर बोल्न सक्ने बनेपछि डुम्रेधारापानीलाई साक्षर गाबिस घोषणा गरिएको हो । 
निरक्षर नागरिकलाई कम्तीमा नेपाली वा मातृभाषामा लेखिएका शव्द, वाक्य, सामान्य लिखत पढ्न, दैनिक जीवनयापनकाक्रममा आवश्यक अंक गणितीय हिसाव गर्न सक्षम बनाउने लक्ष्यका साथ जिल्लामा साक्षर नेपाल अभियान सञ्चालन भइरहेको छ । गाबिस निरक्षरमुक्त बनेको प्रतिबेदन प्राप्त भएपछि अनुगमन गरेर साक्षर गाबिस घोषणा गरिएको श्रोतव्याक्ती रिजालले बताउनु भयो ।