मघ–१५, खोटाङको डिकुवा र ज्यामिरे गाबिसलाई एकैसाथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । डिकुवाको ४५४ घरपरिवार तथा ज्यामिरेका २९९ घरपरिवारमा वाटरसील चर्पीको निर्माण तथा प्रयोग सुरु भएपछि दुबै गाबिसलाई बिहिबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 
उत्तरी गाबिस ज्यामिरेलाई प्रमुख अतिथिकारुपमा खानेपानी सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर देबेन्द्रकुमार झा र सुदुरपश्चिमी गाबिस डिकुवालाई निमित्त जिल्ला शिक्षा अधिकारी भुवनप्रसाद आचार्यले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् । ज्यामिरेलाई जिल्लाको १४ औं र डिकुवालाई १५ औं खुल्ला दिशामुक्त गाबिस घोषणा गरिएको खानेपानी सरसफाई सव–डिभिजन कार्यालयले जनाएको छ । यससँगै जिल्लामा खुल्ला दिशामुक्त घोषणा भएका गाबिसको संख्या १५ पुगेको छ । 
ज्यामिरेमा भएको कार्यक्रममा संघीय समाजबादीका केन्द्रीय प्रचार बिभाग प्रमुख डिबी राई सरोज, गाबिस सचिव दानबहादुर पोखरेल मगर, खानेपानी सरसफाई सरसफाई स्वच्छता समन्वय समितिको सचिवालय तथा श्रोत केन्द्रका संयोजक धनप्रसाद गिरी, गैर–सरकारी संस्था महासंघका दिपनारयण रिजाल, श्रोतव्यक्ती मेघनाथ रिजाल, पत्रकार खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य केदार मगर, उत्तम चौंलागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सचेतनामुलक सडक नाटक समेत प्रदर्शन गरिएको थियो । सुनौला हजार कार्यक्रम अन्तरगत चर्पी निर्माण गरिएका कारण ज्यामिरेलाई खुला दिशामुक्त घोषणा गर्न सहज भएको गाबिस सचिव पोखरेल मगरले बताउनु भयो । 
बाहुनीडाँडालाई भने खानेपानीको चर्को समस्याका बावजुद पनि खुला दिशामुक्त घोषणा गर्न सफलता मिलेको गाबिस सचिव गणेशबहादुर कार्कीले बताउनु भयो । घण्टौं धाएर पिउने पानी ल्याउनुपर्ने बाध्यता भएपनि स्थानीय श्रोतसाधनको प्रयोग गरी गाबिसका सबै घरमा चर्पी निर्माण गरिएको उनले बताउनु भयो । चर्पी बनाउन नसक्ने निम्न आर्थिक स्तर भएका परिवारलाई छिमेकीमार्फत चर्पी बनाएर अभियान सफल बनाइएको सामाजिक परिचालक हर्क राईले बताउनु भयो । 
डिकुवामा भएको कार्यक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, जिल्ला बिकास समितिका पुर्वउपसभापति जन्मजय राई, एमाले क्षेत्रीय अध्यक्ष सुरेन्द्रकुमार राई, एमाओबादीका जिल्ला सदस्य तामन राई, खानेपानी सरसफाई सव–डिभिजन कार्यालयका प्राबिधिक रामकुमार राई, गैर–सरकारी संस्था महासंघका उपाध्यक्ष चक्रकुमार राई, सचिव बिमलकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।