२०६३ साल भदौमा गठन गरिएका ९ वटा आमा समुहले हालसम्म ८ लाख २ हजार १०९ रुपैयाँ रकम जम्मा गरेको उप–स्वास्थ्यचौकी चिप्रिङका सिनियर अनमि उर्मिला राईले बताउनु भयो । ‘मर्ने रहर कसैलाई हुँदैन तर, अहिले पनि गर्भवती महिलाले अकालमै मर्नुपर्ने अवस्था छ,’ राईले भन्नुभयो, ‘पैसा नभएकै कारण गर्भवती महिलाले मर्न नपरुन भन्नका लागि कोष स्थापना गरिएको हो ।’ जटिल किसिमका समस्या देखिएका गर्भवती महिलालाई सदरमुकाम दिक्तेल, बिराटनगर, काठ्माडौं वा अन्यत्र लैजानका लागि आवश्यक पर्ने आपतकालिन रकम जुटाउनका लागि सामुहिक बचत गरिएको आमा समुहले जनाएको छ । ‘तत्काल पैसा चाहियो, कहाँ खोज्ने ?’ उहाले थप्नुभयो, ‘कोष भएपछि आपतकोबेलामा हामीलाई ढुक्क छ ।’
आर्थिक अभावमा अस्पतालसम्म पुग्न नसक्ने निम्न आर्थिक स्तर भएका गर्भवती महिलाको सहयोगका लागि सबै वडामा कोष खडा गरिएको समुहले जनाएको छ । बिरामीको प्रकृति तथा आर्थिक अवस्था हेरेर निम्न आर्थिक स्तरका गर्भवती महिलालाई निव्र्याजी रकम सहयोग गर्नेगरिएको राईले बताउनु भयो । ‘अस्पताल लैजानुपर्ने तर अस्पताल जाने आर्थिक हैसियत नभएका गर्भवती महिलाको सहयोगका लागि कोषको रकम खर्च हुन्छ,’ सिनियर अनमि राईले भन्नुभयो, ‘निम्न आर्थिक स्तर भएका गर्भवती महिलालाई निव्र्याजी ऋण सापट दिने व्यवस्था मिलाइएको छ ।’ आमा समुहले अन्यलाई भने मासिक सयकडा दुई रुपैयाँका दरले ऋण दिने गरेको छ ।
आमा समुहले आफ्नो सदस्यता लिएका महिलाबाट प्रतिव्यक्ती मासिक पाँच रुपैयाँका दरले रकम संकलन गर्दै कोष खडा गरेका हुन् । ‘गर्भवती महिला र बच्चाको जीवन बचाउका लागि आमा समुहले देउसी खेले, बिदेश जाने गाउँलेबाट पनि सहयोग जुटाएर बचत गरेका छन्’ राईले भन्नुभयो । कोषका कारण गाबिसका दर्जनौं गर्भवती महिला र बच्चाको ज्यान जोगीइसकेको छ । ९ वटै आमा समुहको संस्थागत बिकासका लागि छुट्टाछुट्टै भवन निर्माणको पहल थालिएको उहाले जानकारी दिनुभयो ।
Add caption |
महिला र नवजात शिशुको जीवन बचाउनका लागि चिप्रीङ–१ स्थित साचेखा आमा समुहले १ लाख ३७ हजार १९१, चिप्रीङ–२ स्थित हिमशिखर आमा समुहले १ लाख ७५ हजार ७५, चिप्रीङ–३ स्थित लालीगुराँस आमा समुहले ९७ हजा २८८, चिप्रीङ–४ स्थित अजम्बरी आमा समुहले १ लाख ५३ हजार ७८०, चिप्रीङ–५ स्थित सयपत्री आमा समुहले ३५ हजार बचत गरेका छन् । यस्तै, चिप्रिङ–६ स्थित सम्झना आमा समुहले ७४ हजार ७७५, चिप्रिङ–७ स्थित प्रतिभा आमा समुहले ५३ हजार ५ सय, चिप्रिङ–८ स्थित नारीजागरण आमा समुहले ५५ हजार र चिप्रिङ–९ स्थित नवज्योती आमा समुहले २० हजार ५ सय बचत गरिसकेको सिनियर अनमि राई बताउनुहुन्छ ।