माघ–१८, जिल्लाको विकास र पर्यटन प्रवर्धनका लागि अर्खौलेमा जिल्लाव्यापी खुल्ला पुरुष भलिबल प्रतियोेगताको तयारी पूरा भएको आयोजकले जनाएको छ । लुकेर रहेका प्रतिभाको खोज, लोपोन्मुख कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरी लगायतका स्थलको पर्यटन प्रवर्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेको आयोजनामा अर्खौलेको सालपाचौंरमा माघ–२० गतेदेखि हप्ता दिनसम्म सञ्चालन हुने जिल्लाव्यापी खुल्ला भलिबल प्रतियोगीताको तयारी पूरा भएको हो ।
आईतबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । ओझेलमा परिरहेका खोटाङको पर्यटकीय क्षेत्र र सुन्दरताको प्रचार–प्रसार गर्दै खोटाङलाई गन्तव्यकारुपमा विकास गर्नका लागि आयोजना गरिएको कार्यक्रम ‘नमस्ते खोटाङ–२०७१’ अन्तरगत जिल्ला खेलकुद विकास समितिको सहयोगमा भलिबल प्रतियोगिताको तयारी गरिएको आयोजक समितिका सदस्य प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
माघ–२० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ५१ हजार, दोश्रो हुने समुहले ३० हजार र तेश्रो स्थान प्राप्त गर्ने समुहलाई २० हजारका साथमा शिल्ड, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीतामा जिल्लाका २० टिमको सहभागीता रहने आयोजक समितिका सदस्य प्रेम पुरीले बताउनुभयो । ‘
नमस्ते खोटाङ’को अन्तरगत बिशेष कराँते काँटा, जिम्नास्टिक प्रदर्शनी, बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगीता सञ्चालन गरिने पुरीको भनाइ छ । ‘नमस्ते खोटाङ’ कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइने जनाइएको छ ।
कार्यक्रमको अवधिमा बिभिन्न भेषभुषा, कलासंस्कृति र पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक तथा हाँस्यव्याङ्ग्य प्रहसन, नेवार समुदायको लाखे, राई समुदायको साकेला, विभिन्न जातीय झाँकी प्रदर्शन लगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।