
माघ–१९, मानव बेचबिखन नियन्त्रण गर्नकालागि खोटाङका तीन स्थानमा संरक्षण समिति गठन गर्ने तयारी गरिएको छ । महिला तथा बालबालिका कार्यालय खोटाङको कार्यालयमा सोमबार बसेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समितिको बैठकले सदरमुकाम दिक्तेल नगरपालिका, अर्खौले र हलेसीमा गाउँ संरक्षण समिति गठन गर्ने निर्णय गरेको हो । तराईसँगको यातायात सम्पर्क, शिक्षाको कमी, बेरोजगार लगायतका कारण जिल्लाका युवायुवती तथा बालबालिकाहरु बेचबिखनको जोखिममा रहेको तथ्यलाई ध्यानमा राखेर समिति गठन गर्न लागिएको हो ।
यातायातको पहुँच पुगेको र मानिसको आवत जावत भइरहने बिशेषताको आधारमा मानव बेचबिखन हुनसक्ने सम्भाबित जोखिमलाई मध्यनजर गर्दै ती स्थानमा संरक्षण समिति गठन गर्ने तयारी गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी भुवन राईले बताउनु भयो । जिल्लाका अनपढ र सोझासिधा युवायुवती तथा बालबालिकालाई बिभिन्न प्रलोभनमा पारेर हुने बेचबिखनबाट जोगाउनकालागि संरक्षण समितिलाई क्रियासिल बनाउन लागिएको कार्यालयले जनाएको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा गठन गरिने संरक्षण समितिले मानव बेचबिचखनका बिरुद्धमा गाउँ तहमा काम गर्ने राईको भनाई छ । ‘समितिले मानवलाई बेचबिखन हुनबाट बच्न सबैलाई सचेत गराउँछ,’ राईले भन्नुभयो्, ‘यसका बिषयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने छ ।’