खोटाङ, साउन १७– खोटाङका प्रदेशसभा सांसद राजन राईले त्रि–धार्मिकस्थल हलेसीको विषयमा नेकपाका नेता तथा कार्यकर्ताले पर्यटनमन्त्रीलाई भेटेको सन्दर्भलाई कांग्रेसले गलत तरिकाले व्याख्य गरेको उल्लेख गरेका छन् । प्रदेश सांसद राईले हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीको बिकास स्थानीय सरकार र प्रदेश सरकारको लगानीबाट मात्र सम्भव नहुने भएकाले केन्द्र सरकारलाई जिम्मेवारीका लागि आग्रह गरेको विषयलाई लिएर कांग्रेसले सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरेको उल्लेख गरेका हुन् । 
प्रदेशसभा सांसद राईले बिहिबार फेसबुकमार्फत हलेसीलाई केन्द्रीय सरकारको मातहतमा लैजाने कुरालाई कांग्रेसले संघीय प्रणालीको खारेजी गर्ने अभ्यासकारुपमा भ्रमपुर्ण आरोप लगाएको उल्लेख गरेका छन् । ‘हलेसीले खोटाङको मात्र होईन मुलुककै आर्थिक उन्नयनमा महत्वपूर्ण योगदान दिन सक्ने बस्तुगत सच्याईका आधारमा यसको समग्र बिकासका निम्ति केन्द्रले अत्यन्तै ठूलो आर्थिक लगानी गर्नुपर्छ,’ प्रदेशसभा सांसद राईले लेखेका छन्, ‘हलेसीको बिकास केही अरब रुपैयाँले मात्र सम्भब छैन । पचासौं अरब लाग्न सक्ने भएकाले हलेसीको बिकासमा स्थानीय तह वा प्रदेशबाट मात्र लगानी जुटाउन नसकिने भएकोले केन्द्रबाटै यसको जिम्मेवारी लिनुपर्छ भन्ने अभिप्रायले डेलीगेसन गएको हो ।’ 
हलेसीलाई सङ्घीय सरकारको मातहतमा राख्न माग गर्दै नेकपाका सांसद तथा नेता पर्यटनमन्त्री समक्ष साउन १३ गते डेलीगेसन गएपछि प्रतिपक्षी दल कांग्रेसका नेता तथा कार्यकर्ताले यसलाई सङ्घीयता विरुद्धको गतिविधिका रुपमा व्याख्या गरिरहेको जनाइएको छ । 
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तात्कालिन एमाले र माओबादी केन्द्रको संयुक्त घोषणापत्रमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र हलेसीलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने प्रतिबद्धता अनुसार हलेसीको पर्यटन प्रवद्र्धनका बिषयलाई महत्वका साथ उठाइएको राईको स्टाटसमा उल्लेख छ । 
प्रदेशसभा सांसद राईले नेपालको राजनैतिक इतिहासमा गणतन्त्र र सङ्घीयता कम्युनिस्टको मात्र मुद्धा रहेकाले डेलीगेसनलाई सङ्घीयताको बिरुद्धका रुपमा व्याख्य गर्नु अनर्थ भएको जनाएका छन् ।