फागुन–२, संघीय समाजवादी पार्टी नेपालले किरात प्रदेश समिति घोषणा गरेको छ । अब बन्ने संघीय संरचनामा किरात प्रदेश स्थापित गर्न दवाव दिने उद्देश्यले केन्द्रीय निर्वाचन समितिका सभापति राजकुमार राईको अध्यक्षमा २९ सदस्यीय समिति घोषणा गरेको हो ।
समितिको उपाध्यक्षमा सनबहादुर राई, भीम राई र बलबहादुर बस्नेत रहनुभएको छ । पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित समितिको मुख्य सचिवमा घनश्याम कटवाल रहनुभएको छ ।
समितिले अब बन्ने संविधानमा पहिचान सहितको संघीय राज्यहरु स्थापनाका लागि दवाव दिने नवगठिन समितिका उपाध्यक्ष सनबहादुर राईले बताउनुभयो । केन्द्रीय सदस्य समेत रहनुभएका राईले भन्नुभयो– “कांग्रेस–एमाले लगायतका दलले बहुमतको आधारमा पहिचान विरोधी संविधान जारी गर्ने प्रपञ्च रचेकाले पहिचान स्थापित गर्न संघीय समिति घोषणा गरेका हौं, पहिचान सहितको संघीय संविधान निर्माणमा लागि यो समिति जस्तो सुकै आन्दोलन गर्न पनि पछि पर्दैन ।”
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईको प्रमुख आतिथ्यमा भएको घोषणा सभामा उपाध्यक्ष हेमराज राई, उपमहासचिवहरु अजम्बर काङ्माङ र नोर्साङ शेर्पा, केन्द्रीय निर्वाचन समितिका सभापति लगायतको उपस्थिति रहेको छ ।