फागुन–५, हिन्दूहरुद्धारा मनाईने महाशिवरात्री सम्पन्न भएको छ । महाशिवरात्रीमा पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा पनि पूजाआजा गर्ने र मेला भर्ने दर्शनार्थीको बाक्लो भीड लाग्यो ।
मेलामा नेपाल लगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, कोरिया लगायतका हजारौं दर्शनार्थीहरुको उपस्थिति रहेको थियो । हिन्दु, वौद्ध र किरात, धर्मालम्बीहरुको त्रिवेणीस्थल मानिने हलेसीमा सडक बिस्तार भएसँगै दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति भएको होे ।
उदयपुर र खोटाङको सिमानामा पर्ने हर्कपुरस्थित सुनकोसीमा पक्की पुल र खोटाङ र ओखलढुङ्को सिमानामा पर्ने जयरामघाटस्थित दुधकोसी नदीमा अस्थायी बेलिब्रीज हालिएपछि यस पल्ट हलेसी आउने दर्शनार्थीहरुको संख्या दोब्बर वृद्धि भएको हलेसी विकास समितिका निर्देशक तामन राईले जानकारी दिनुभयो ।
राजधानी काठमाडौं तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौं, धरान, बिराटनगर, जनकपुरधाम, ईलाम, रौतहट, पोखरा, लगायत छिमेकी देश भारतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् । धार्मिक तथा साँस्कृतिकरुपले प्रसिद्ध मानिने तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
महादेवगुफा, धर्मद्धार, पापद्धार, बसाहागुफा, भैरबगुफा, दुंदेलोगुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो । हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज लगायतमा ठूलो मेला लाग्ने गर्दछ ।
हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने स्थानीयको भनाइ छ ।