
चर्पी निर्माण गरे नगरेको विषयमा अनुगमन गर्न गएका खार्मीस्थित गाविसस्तरीय अनुगमन समितिका सदस्य राजन भट्टराईलाई कुटपिट गर्ने खार्मी–७ का सुरेन्द्र तामाङ र कामी भनिने दीपेन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।
अनुगमनमा गएका भट्टराईमाथि कुटपिट गरेपछि उनले दिएको उजुरीको आधारमा आरोपितलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरिक्षक मनोज यादवले बताउनुभयो । पक्राउ परेका आरोपित र पीडित पक्षलाई राखेर छलफल गराइ कारबाही थालिने यादवको भनाइ छ ।
‘घरमा चर्पी निर्माण गरे नगरेको’ विषयमा सोध्दा गाविस सचिव उमेश बस्नेतलाई गालीगलौज गरेको र सम्झाउनेक्रममा भट्टराईमाथि कुटपिट गरेको स्थानीयले जनाएको छ । चर्पी नबनाउने घरपरिवारलाई गाबिसबाट दिइने सेवा सुविधाबाट वञ्चित गराइने जानकारी गराउँदा तामाङ र श्रेष्ठले सचिवमाथि गालीगलौज गरेको र सम्झाउनेक्रममा आफुमाथि आइलागेको भट्टराईले जानकारी दिनुभयो ।
कुटपिटबाट भट्टराईको टाउको, हात लगायत शरीरका बिभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । बुधबार कुटपिट गर्ने बिरुद्ध सोही दिन तालखर्क प्रहरी चौकी र बिहिबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी परेको थियो ।