
फागुन–१६ । श्रीमतीको हत्या गरेर जलाएको खुलासा भएपछि पक्राउ परेका श्रीमानसहित जिल्लाका दुई जना कारागार चलान भएका छन् ।
श्रीमतीको हत्या गरेर जलाएको प्रहरी अनुसन्धानबाट खुलासा भएपछि पक्राउ परेका फेदी–४ का २४ वर्षीय श्रीमान सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राई पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जिल्ला न्यायाधिस ईश्वरीप्राद गौतमको आदेशमा दुबै जनालाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । गत माघ–२ गते राती आगलागीमा परी मृत्यु भएको भनिएकी फेदी–४ की २२ वर्षीया शुष्मा राईको ‘हत्यापछि जलाइएको’ खुलासा भएपछि श्रीमान सुदीप र दुर्गाधनलाई प्रहरीले माघ–१८ गते नियन्त्रणमा लिएको थियो ।
अपराध ढाकछोपका लागि सुदीपले श्रीमतीको हत्यापछि आफ्नै घरमा आगो लगाएर ‘जलेर मृत्यु भएको बनाएको’ स्वीकार गरेको प्रहरीले जनाएको छ । शुष्माको शव अगेनाको चुलोमा घोप्टो परेर डढेको अवस्थामा भेटिएपछि घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरीले सुदीपलाई नियन्त्रणमा लिएको थियो ।
सुदीप घटना भन्दा केही समयअघि मात्र विदेशबाट घर आएका थिए । मृतक शुष्माको पेटमा चार महिनाको गर्भ रहेको अस्पतालको पोष्टमार्टम रिपोर्टमा देखिएको प्रहरीले जनाएको छ ।
पेटमा रहेको गर्भको विषयमा विवाद भएपछि घटना घटेको स्थानीयको अनुमान छ । शुष्माको शव आगलागीले जलेको गोठमा डढेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
दुर्गाधनलाई भने शुष्मासँगको सम्वन्धका बिषयमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।