खोटाङ असार–३, महिला सचिबसँग काम गर्न अप्ठ्यारो भएको भन्दै पुरुष सचिब माग गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले क्षमा याचना गर्नुभएको छ । उहाँले प्रेस विज्ञप्ति जारी गरी लैङ्गिक विभेद गर्ने कुनै नियत नभए पनि भाषा प्रयोगमा भूल भएको भन्दै क्षमाको याचना गर्नुृभएको हो ।

सामाजिक सञ्जालहरूमा आए जस्तो महिला भएकै कारण काम गर्न सक्नुहुन्न भन्ने आशय पटक्कै नभएको अध्यक्ष पुरीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । भूलवश त्यस्तो भाषा प्रयोग हुन गए पनि नियत भने त्यस्तो नभएको उहाँले उल्लेख गर्नुभएको छ । सही हुँदाहुँदै पनि प्रयोग भएको भाषाले पर्न गएको असरप्रति आलोचित हुँदै वडाध्यक्ष पुरीले क्षमायाचना गर्नुभएको छ ।

दुर्गम ठाउँमा रहेको नवलपुरमा साताको एक दिन वडा कार्यालयले सेवा दिंदै आएकाले त्यस ठाउँमा जान आउन महिला कर्मचारीलाई अप्ठ्यारो होला कि भनेर पुरुष कर्मचारी माग गरिएको पुरीले प्रष्टीकरण दिनुभएको छ ।

वडाध्यक्ष पुरीले जेठ ३० गते वडा समितिको बैठकबाट निर्णय गराएर महिला वडासचिवको ठाउँमा पुरुष वडासचिव पठाउन माग गरी नगरपालिका कार्यालयमा पत्र पठाउनुभएको थियो । जेठ ३१ मा नगरपालिकामा पठाइएको पत्रमा पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारीबाट सेवा प्रवाह असहज हुने उल्लेख छ ।

महिलाप्रति वडाको साथ सहयोग र उच्च सम्मान रहने पुरीले जनाउनुभएको छ । ।