खोटाङ, फागुन २५ । ‘भ्वाइस अफ खोटाङ’को उत्कृष्ट दश प्रतियोगी छनौट गरिएको छ । पाँचौँ अडिसनसम्म आइपुगेका १७ प्रतियोगीमध्येबाट अन्तिम प्रतिष्पर्धाकालागि उत्कृष्ट छनौट गरिएको ‘भ्वाइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दिपक ठटालले बताउनुभयो ।
आगामी फागुन–३० गते सदरमुकाम दिक्तेलमा आयोजन गरिने अन्तिम प्रतिष्पर्धाकालागि बुइपाका जीवन्तराज राई, महेश्वरीका उत्तम राई र मदन राई, सप्तेश्वरका मौसम किराती, लफ्याङकी अमिता राई, दुर्छिमका सुस्मिता राई, सावाकटहरेका कृष्ण कोईराला, लफ्याङका यसकुमार राई, दिक्तेलका सुमन हिङ्माङ र विजयहाङ राई छनौट हुनुभएको छ । 
गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको ‘भ्वाइस अफ खोटाङ–२०७१’मा सहभागी ७ सय प्रतियोगीमध्येबाट उत्कृष्ट दशको टुंगो लगाइएको हो । पाँचौं अडिसनबाट बाहिरिएका सप्तेश्वरका तेजकुमार राई र खिदिमाका लाक्पा तामाङलाई बाल कलाकारको सम्मान प्रदान गरिएको संयोजक ठटालले बताउनुभयो । 
‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको हो । छैटौं अडिसनबाट छानिएका टप टेनबीचमा प्रतिष्पर्धा गराएपछि प्रथम, दोश्रो र तेश्रो प्रतिभाको टुंगो लगाइने ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका सचिव मिलन चाहारले बताउनुभयो । 
‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसनबाट छनौट हुने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्कारका साथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने आयोजकले जनाएको छ । बाक्सिलाबाट गत मंसिर–२४ गते सुरु गरिएको ‘भ्वइस अफ खोटाङ’को पाँचौं अडिसन फागुन–२३ र २४ गते सदरमुकाम दिक्तेलमा गरिएको थियो ।