
खोटाङ, फागुन २८ । सोह्र वर्षअघि काम खोज्दै भारतको सिलोङ पुगेका खोटाङका एक युवा मृत फेला परेका छन् ।
रोजगारीका सिलसिलामा कोइला काट्न २०५५ सालमा सिलोङ पुगेका बड्कादियाले–७ का तिर्थराज नेपाली सो¥ह वर्षपछि मृत फेला परेका हुन् ।
सिलोङ पुगे यता हालसम्म एक पटक पनि घर नफर्केका तिर्थराज कोइलाखादको ‘कटिङ’ भित्र मृत फेला परेको परिवारलाई जानकारी आएको स्थानीय अप्सरा श्रेष्ठले बताईन् । सिलोङबाट गाउँका आफन्तले टेलीफोनमार्फत दिएको जानकारी अनुशार परिवारले मृतक तिर्थराजको काजक्रिया सुरु गरेका छन् । फागुन–२५ गते सुरु गरिएको काजक्रिया दश दिनपछि बिधिवत समापन गरिने श्रेष्ठको भनाई छ । सो¥ह वर्षपछि सिलोङमै गत फागुन–१६ गते मात्र एक पटक देखा परेको केही दिनमै उनी मृत फेला परेको जानकारी आएको उनका आफन्तले बताएका छन् ।
पहाड छेडेर र जमिनमुनी पसेर कोईला काट्ने, निकाल्ने र ओसार्ने कामका लागि उनी साथीहरुसँग सिलोङ पुगेका थिए । हरेक वर्ष जिल्लाका युवा भारतको सिलोङ, मिजोरम, कालेङपुङ, जयन्ती, बरबाई, मुक्ते, सिमेन्ट, याङकुलुङ, राँगाघाट लगायतका ठाउँमा कोइला काट्ने र निकाल्ने जोखिमपूर्ण कामका लागी जाने र आउने गरेका छन् ।