
चैत्र–६, खोटाङको उत्तरी गाबिस ऐसेलुखर्कका स्थानीयबीच खानेपानीको विषयमा चर्किएको बिवाद समाधान भएको छ । ऐसेलुखर्क–६ का माथिल्लो क्षेत्रका स्थानीयले खानेपानीलाई अलैंचीबारीमा लगाएपछि तल्लो गाउँ र माथिल्लो गाउँका स्थानीयबीचमा बिवाद भएको थियो ।
राजनैतिक दलका स्थानीय प्रतिनिधि, खानेपानी उपभोक्ता समिति, बुद्धिजिवी, स्थानीयबासी सम्मिलित बैठकले खानेपानीको बिवाद सहमतीमा टुंग्याएको स्थानीय गोपी तामाङले जानकारी दिनुभयो । आगामी दिनमा खानेपानीलाई अलैंची बालीमा नहाल्ने, हाल्नुपर्ने भए रातका समयमा मात्र प्रयोग गर्ने र सर्वपक्षीय बैठकको निर्णयविपरित पानीको दुरुपयोग गर्नेलाई कारबाही गर्ने सहमतीमा बिवाद हल गरिएको हो ।
१४ वर्षअघि सञ्चालनमा ल्याइएको टापु खोला मुहान भएको खानेपानीलाई माथिल्लो क्षेत्रमा अलैंची बालीमा हाल्न प्रयोग भएपछि तल्ला गाउँका ६० घरका स्थानीय खानेपानीबाट बञ्चित भएका स्थानीयले बताएका छन् ।