
चैत्र–९, जिल्लाको दक्षिणी गाविस सुन्तलेबाट ६० लाखबढिको अम्लिसो निर्यात भएको छ । तराईसँगको सिधा यातायात जोडिएपछि यस वर्ष सुन्तले गाविसबाट मात्रै ६० लाखबढिको अम्लिसो निर्यात भएको हो ।
सुन्तलेका स्थानीयबासीले उत्पादन गरेका अम्लिसो उदयपुरको गाईघाटबाट बिराटनगर, जनकपुर, काठमाडौं तथा भारतसम्म निर्यात हुने गरेको स्थानीयको भनाइ छ । ४ सय २९ घरधुरी रहेको उक्त गाविसका स्थानीय बासिन्दाले दश वर्षअघिदेखि अम्लिसो खेती सुरु गरेका हुन् ।
घरैबाट प्रति केजी ३० देखि ४५ रुपैयाँमा बिक्री हुने अम्लिसो कुचो गाईघाटमा प्रति केजी एक सय ५० रुपैयाँमा बिक्री हुने गरेको उदयपुरका पत्रकार महेश्वर चाम्लिङले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा प्रति गोटा ४० देखि ५० रुपैयाँमा बिक्री हुन्छ, एक केजी अम्लिसोबाट तीनवटा तयारी कुचो हुन्छ ।”
ठेकेदारमार्फत निर्यात गरिने अम्लिसो यस वर्ष ७० हजार बराबरको एक्लैले बिक्री गरेको सुन्तले–२ की हिरादेवि बञ्जराले बताउनुभयो । उहाँले भन्नुभयो, “यसैबाट छोराछोरीको पढाइ खर्चका साथै घर खर्च चलाउने गरेकी छु ।” अम्लिसो उत्पादनमा उर्वर मानिएको सुन्तले गाविसका लागि हालसम्म कसैले सहयोग नगरेको सुन्तले–३ का कृषक चन्द्रमणि राईले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै लगानीमा खेती गर्दा त यस वर्ष ६० लाखबढिको निर्यात गर्न सकियो, राज्यको ध्यान जान सकेको खण्डमा राम्रो हुने थियो ।”
जिल्लाको फाक्टाङ, साउनेचउर, बोपुङ, मौवाबोटे लगायतका गाविसमा अम्लिसो उत्पादन हुने गरेको छ । पछिल्लो समय महुरे–फोक्सिङटार सडक आसपासको क्षेत्रमा समेत अम्लिसो खेती बिस्तार गरिएको छ ।
जिल्लामा उत्पादित कच्चा पदार्थ सहज रुपमा निर्यातका लागि यसै वर्षबाट बाटोको स्तरोन्नतीका पहल गर्ने सभाषद् विशाल भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित कच्चा पदार्थ निर्यातका लागि धाप्लाङघाट हुँदै तार्नुपर्ने हुँदा ज्यादै समस्या भएको छ, उक्त ठाउँमा पक्की पुलको प्रारम्भिक सर्वेक्षण भएपनि बाँकी काम केही नभएकाले सम्बन्धित निकायमा खबरदारी गर्नेछु ।”
धाप्लाङघाट उदयपुरको साउने र खोटाङको सुन्तले जोड्ने सुनकोसी नदीमा पर्छ । उक्त ठाउँमा पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत सामान आसारपसार गर्नुपर्ने बाध्यता छ ।