चैत्र–११, खोटाङको दक्षिणी गाबिस खोटाङबजार स्थित ईलाका बन कार्यालय हप्ता दिनसम्म बन्द हुनेगरेको भेटिएको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले गरेको खोटाङबजार स्थित सरकारी कार्यालयहरुको निरिक्षण तथा अनुगमनका क्रममा ईलाका बन कार्यालय हप्ता दिनसम्म बन्द हुनेगरेको भेटिएको हो ।
चार बन रक्षक, एक जना फरेस्टर र एक जना रेञ्जरको दरबन्दी रहेको ईलाका बन कार्यालय खोटाङबजारमा सहायक बन अधिकृत दिनेश यादव, बन रक्षक भक्तिबिलास सुबेदी र कृष्णबहादुर कार्की कार्यरत छन् । कार्यालयका अनुशार बन रक्षक कार्की भने हाल काजमा अन्तैतिर कार्यरत छन् । गत आईतबार गरिएको अनुगमनकाक्रममा सो कार्यालय दुई हप्तादेखि बन्द रहेको भेटिएको अनुगमनमा संलग्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कायर्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताउनु भयो ।
‘खुल्ला दिशामुक्त क्षेत्र घोषणाका क्रममा खोटाङबजार पुगेका प्रजिअसहितको टोलीबाट सरकारी कार्यालयहरुको अनुगमन गरिएको थियो,’ निमित्त प्रमुख घिमिरेले भन्नुभयो, ‘ईलाका बन कार्यालय बन्द भएको दुई हप्ता नै बितेको रहेछ ।’ अनुगमनका क्रममा कार्यालय बन्द रहेको भेटिएपछि प्रमुख जिल्ला अधिकारी सापकोटाले कार्यालय नआउने कर्मचारीलाई तत्काल कारबाही गर्न जिल्ला बन कार्यालयलाई फोनमार्फत निर्देशन दिनुभएको थियो । कुनै कर्मचारी ‘फिल्ड’मा जाने भन्दै कार्यालयमा नआउने गरेकाले र कोही कामका लागि ‘फिल्ड’ भन्दै घर जाने गरेकाले ईलाका बन कार्यालय बन्द हुने गरेको स्थानीयको गुनासो छ ।
बन रक्षक सुबेदीले कर्मचारीको अभावमा कहिलेकहीँ ईलाका बन कार्यालय बन्द हुनेगरेको बताउनु भयो । आफु काजमा फिल्ड गएको र यादव तालिमकालागि बिराटनगर गएकाले कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको सुबेदीले जनाउनु भयो । ‘कार्यालयमा दरबन्दी अनुशार कर्मचारी छैन,’ सुबेदीले भन्नु भयो, ‘कहिलेकहीँ दुबैजना काममा जाँदा कार्यालय बन्द गर्नु हाम्रो बाध्यता हो ।’ प्रजिअ सापकोटाले अनुगमन र निर्देशन गरे यता भने ईलाका बन कार्यालय नियमित खुल्न थालेको स्थानीयले बताएका छन् । सापकोटाले ईलाका स्तरका कार्यालयलाई नियमित अनुगमन गरी सो को प्रतिवेदन पेश गर्न ईलाका प्रशासन कार्यालय खोटाङबजार समेतलाई निर्देशन दिनुभएको छ ।