चैत्र–१५, जिल्लास्थित सरोकारवाला निकायका व्यक्तित्वले इन्सेकको काम प्रभावकारी बन्दै गएको भन्दै आगामी दिनमा अनाथ वालवालिकाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्धारा सदरमुकाम दिक्तेलमा चैत १४ गते आयोजना गरेको त्रैमासिक पूर्व समिक्षा कार्यक्रमको अवसरमा वक्ताहरुले आगामी दिनमा सडक वालवालिका, अनाथ र श्रमशोषणमा परेका वालवालिकाको हितमा हुने काम गर्नुपर्ने सुझाव दिएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारलाई प्राथमिकता दिदै संकलित सबै घटनाहरु वर्षपुस्तकमा समेट्नुपर्ने सुझाव दिनुभयो । इन्सेकले प्रकाशन गर्दै आएको वर्षपुस्तकमा पछिल्लो समय तथ्याङ्क मात्र समावेश गर्न थालेपछि कतिपय घटनाहरु सार्वजनिक नहुने हुँदा वर्षपुस्तकको प्रभावकारीता घटेको उहाको भनाई छ ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष दिपनारायण रिजालले इन्सेकले अभिलेख गरेको घटनाले पीडितलाई सहयोग पुगिरहेको बताउनु भयो । नेकपा एमालेका अध्यक्ष बबि चाम्लिङले महिला अधिकारको विषयमा व्यापक आवाज उठाउनुपर्ने बेला भएको बताउनु भयो । उहाले देशैभरी महिला अधिकारको विषय उठीरहेकाले यस्ता कार्यक्रम तल्लो निकायसम्म पुग्नुपर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय खोटाङका इन्सपेक्टर लालवावु यादवले महिला र वालवालिकाको क्षेत्रमा भएका घटनामाथि आरोपितलाई हदैसम्मको कारवाही गरिरहेको बताउनु भयो ।
इन्सेक प्रतिनिधि डिएम चाम्लिङले सन् २०१५ (जनवरी १ देखि ३० मार्च) सम्म भएको २० वटा घटनाको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक प्रतिवेदन अनुसार जिल्लामा २ वटा गैरन्यायीक हत्या, ३ वटा बहुविवाह, १ वटा बलत्कार, ३ वटा वालिका बलत्कार, २ वटा बलत्कार प्रयास, ५ वटा घरेलुहिंसा र अन्य ४ वटा घटना भएको उल्लेख छ । सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, राजनैतिक दलका प्रतिनिधि सम्मिलित कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका लोकनाथ घिमिरेलाई बनाईएको थियो भने कार्यक्रमको सञ्चालन इन्सेक प्रतिनिधि डिएम चाम्लिङले गरेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्धारा चैत १४ गते खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित त्रैमासिक पूर्व समिक्षा कार्यक्रमका सहभागीहरु ।
तस्बिरः डिएम चाम्लिङ राई