खोटाङ, चैत्र १६ । खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सोमबार बिहानदेखि माबि स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो ।
 सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगीता प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले उदघाटन गरे । गत फागुन–१८, १९ र २० गते सञ्चालन गर्ने भनिएको प्रतियोगीता वर्षाका कारण सरेको थियो । प्रतियोगीतामा क्षेत्र स्तरिय छनौट प्रतियोगीताबाट छानिएका जालपा माबि राखाबांदेल, जालपा माबि नुनथला, कालिका माबि खार्मी, राष्ट्रिय माबि बासपानी, पृथ्बी उच्च माबि बाक्सिला, भगवती दिनानाथ उच्च माबि खोटाङबजार, कालिका माबि काबाचोलले प्रतिष्पर्धा गर्दैछन् । 

राष्ट्रपति रनिङ शिल्ड अन्तरगत छात्र÷छात्रा एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट, तेक्वान्दो, उफ्रने र फ्याँक्ने प्रतियोगीता सञ्चालन हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद उदासले जानकारी दिए । 
मार्सलआर्टका खेलबाहेक एथ्लेटिक्स र भलिबल खेलमा बिजय भएवापत पाएको अंक जोड्दा सर्वाधिक अंक हाँसिल गरी प्रथम हुने बिद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार प्रदान गरिने र दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने बिद्यालयलाई क्रमशः नगद १२ हजार र ९ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने खेलकुद बिकास समितिले जनाएको छ । क्षेत्रीय स्तरको छनौट खेलमा क्षेत्र नम्बर–१ मा १० र क्षेत्र नम्बर–२ मा ७ बिद्यालयको सहभागीता रहेको थियो ।