एउटा विद्यालयको उत्तर पुस्तिका अर्को विद्यालयले जाँच्ने

चैत्र–१६ । जिल्लामा भर्खरै सकिएको कक्षा–८ को जिल्लास्तरीय परीक्षामा सहभागी विद्यार्थीको उत्तर पुस्तिका अर्को विद्यालयका शिक्षकले जाँच्ने व्यवस्था मिलाइएको छ । 
खच्कँदो शिक्षा क्षेत्रलाई सुधार गर्ने उद्देश्यले एक विद्यालयका विद्यार्थीले दिएको परीक्षाको उत्तर पुस्तिाका अर्को विद्यालयका शिक्षकले जाँच्ने व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । 
विगत वर्षहरुमा सम्बन्धित विद्यालयले परीक्षा लिने र उत्तर पुस्तिका समेत सोही विद्यालयका शिक्षकले जाँच्ने प्रचलन थियो । त्यसो गर्दा विद्यार्थीको शैक्षिक गुणस्तर खच्कँदै गएकाले आगामी दिनमा सुधार गर्दै लान यस वर्षबाट एक विद्यालयको उत्तर पुस्तिका अर्को विद्यालयको शिक्षकले जाँच गर्ने व्यवस्था मिलाइएको जिशिअ भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा शिक्षकमा पढाउनुपर्छ र विद्यार्थीमा पनि पढेर मात्र पास भइन्छ भन्ने वानीको विकास हुने अपेक्षा गरेको छु ।”
एक विद्यालयको विद्यार्थीले दिएको परीक्षाको उत्तर पुस्तिका अर्को विद्यालयका शिक्षकले जाँच्ने व्यवस्था मिलाइएपछि केही शिक्षकहरुमा छट्पटी सुरु भएको स्रोतले बताएको छ । उसले भन्यो, “अधिकांश शिक्षकले आफ्नो कार्य सम्पादन मूल्याङ्कन फारममा विद्यालयको गुणस्तर सय प्रतिशत राम्रो छ भनेर भरेका छन्, यस वर्षको नतिजाले असर गर्छ भन्ने लागेर फोन समेत आउन थालेको छ ।”
यस वर्षको परीक्षालाई थप मर्यादित बनाउन जालपा स्रोत केन्द्रमा कोडिङ सिस्टम लागू गरिएको स्रोत व्यक्ति राजकुमार राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्तर पुस्तिका जाँच्ने व्यक्तिले कुन विद्यालय र विद्यार्थीको उत्तर पुस्तिका जाँच गर्दै छु भन्ने थाहा पाउँदैनँ, त्यसैले पनि यस वर्षको परीक्षा मर्यादित भएको विश्वास गरेको छु ।”
जिल्लामा सञ्चालित परीक्षाको उत्तर पुस्तिका अहिले स्रोत केन्द्रमा जम्मा गर्ने काम भइरहेको जिल्ला शिक्षा कार्यालय खोटाङका विद्यालय निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लाका दुई निजीसहित एक सय ६२ विद्यालयका पाँच हजार दुई सय विद्यार्थी यस वर्षको जिल्लास्तरीय परीक्षामा सहभागी भएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
विगत वर्षहरुमा केही विद्यालयले तीन÷चार वटा विषय अनुत्तीर्ण गर्ने विद्यार्थीलाई समेत माथिल्लो कक्षामा तानेको पाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष भने, लिखित र प्रयोगात्मक दुवै उत्तीर्ण गर्ने विद्यार्थीलाई मात्र अर्को कक्षामा पठाउने व्यवस्था मिलाइएको छ ।