चैत्र–१९, बहुला कुकुरले मान्छे तथा पशुचौपायालाई जथाभावी टोक्दै हिँडेपछि खोटाङको अर्खौलेका स्थानीय आतंकित भएका छन् । गाउँ बाहिरबाट प्रवेष गरेको बेवारिसे बहुला कुकुरले एक वृद्धासहित भैंसी, गोरु र बाख्रालाई जथाभावी टोकेपछि अर्खौले–७ दुक्सेलीका स्थानीय आतंकित भएका हुन् ।
बहुला कुकुरको टोकाइबाट घाइते बनेका वृद्धालाई उपचारका लागि राजधानी काठमाडौं लगिएको स्थानीय शिक्षक गोपाल बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “कुकुरले एक जना बुढी आमालाई टोकेको छ, भैँसी र गोरुलाई पनि टोकेछ, बाख्रा त धेरै टोकिएका छन्, त्यसको गन्ती नै गरिएको छैन ।”
स्थानीयका अनुसार जथाभावी भौतारिएर कुद्ने कुकुरले दुई वटा लैनो भैँसी, तीन वटा गोरु र बाख्रालाई टोकेको छ । बहुला कुकुरले घर पालुवा पशु तथा अन्य कुकुरलाई समेत टोकेकाले गाउँमा रेबिजको त्रास फैलिएको जनाइएको छ ।
स्थानीयले टोकिएका भैँसी, गोरु र बाख्राको घरेलु औषधिउपचार गरिरहेका छन् । चार दिनअघि गाउँ छिरेको कुकुरलाई स्थानीयले नियन्त्रणमा लिएर मारेको छ ।
गाउँमा बहुला कुकुरको आतंक फैलिएपछि कार्यालयबाट भ्याक्सिनसहित प्राविधिक टोली खटाइएको जिल्ला पशुसेवा कार्यालय खोटाङका नायवसुब्बा ध्रुव कार्कीले बताउनुभयो ।