चैत्र–२४, दैवीप्रकोपका कारण बिचल्लीमा परेका खोटाङका एक पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारीले आर्थिक सहयोग गर्नुभएको छ । चैत्र–२१ गते चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका माक्पा–४ का कृष्णबहादुर निरौलाको परिवारलाई प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । 
शनिबार साँझ पानीसँगै चलेको हावाहुरीले निरौलाको घरको छाना उडाउँदा दुई लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जस्तापाताले छाएको तीनतले घरको छाना उडाएपछि ८० वर्षीय कृष्णबहादुर र उनकी श्रीमती ७० वर्षीया लीलामायाँ निरौला खुला आकाशमुनी बस्दै आएका छन् ।
शनिबार साँझ चलेको हावाहुरीले जिल्लामा करोडौँको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय बासिन्दाको घरगोठ, विभिन्न विद्यालय, तरकारी खेती, रुखपात लगायतमा ठूलो क्षति पुगेको छ । 
जिल्लाको दुर्गम क्षेत्रमा सञ्चार सेवा बिस्तार नभएका कारण क्षतिको यकिन बिबरण आउन नसकेको प्रहरीको भनाइ छ । पानीसँगै डेढ घण्टासम्म चलेको हावाहुरीका कारण ढलेका रुखले गर्दा जिल्लाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको जनाइएको छ ।