चैत्र–२८, जिल्ला सदरमुकाम दिक्तेलमा लामो समयदेखि बन्द रहेको कुमारी चलचित्र भवन पुनः सञ्चालनमा आउने भएको छ । चलचित्र भवनलाई चलचित्र लेखक प्रकाश पुरीको नेतृत्वमा नयाँ समुहले आगामी बैशाख–१ गतेबाट सञ्चालन गर्ने भएको हो ।
खोटाङ्गे दर्शकहरुको मनोरञ्जनको आवश्यकतालाई मध्यनजर गदै नियमित चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको सञ्चालक समितिका संयोजक प्रमोद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रको बजार बिस्तारमा सहयोग गर्ने र खोटाङमा पनि चलचित्र हेर्ने वातावरणको सिर्जना गराउने उद्देश्यले हल सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।”
तीन सय सिट क्षमता भएको उक्त हललाई पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित हल मानिन्छ । उक्त हलमा नयाँ वर्षको अवसर पारेर यही बैशाख १ गतेदेखि छविराज ओझाको निर्माण र ऋषि लामीछानेको निर्देशन रहेको प्रतिक्षीत चलचित्र हवल्दार सुन्तलीबाट प्रदर्शन सुरु गरिने भएको छ । 
प्रथम प्रदर्शनमा हवल्दार सुन्तलीका कलाकारहरुको पनि उपस्थिति रहने संयोजक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “दिक्तेलबजारमा दुईवटा हल भएपनि अहिले सञ्चालनमा छैनन्, त्यसैले दर्शकको अपेक्षालाई मध्यनजर गरेर सञ्चालन गर्ने तयारी गरेका हौं ।”