बैसाख–४, एकीकृत नेकपा माओबादीका केन्द्रीय सचिव गिरीराजमणि पोखरेलले न्यूनतम सहमतिका आधारमा संबिधान निर्माण गर्नुपर्ने बताउनु भएको छ । एकीकृत नेकपा माओबादी खोटाङले बिहीबार खार्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव पोखरेलले संक्रमणकाल अन्त्य गर्नका लागि न्यूनतम सहमतिको आवश्यकता औंल्याएका हुन् । 
बर्तमान संबिधानसभामा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मान्ने–नमान्ने शक्तीहरुको सहभागीता रहेका कारण सर्बसम्मती हुन नसक्ने उल्लेख गर्दै उहाँले न्यूनतम सहमतीको आधारमा संबिधान निर्माणको क्रमलाई सम्पन्न पर्नुपर्ने बताउनु भएको हो । 
लम्बिदो संक्रमण काल देश र जनताका लागि घातक हुने भन्दै पोखरेलले चाँडोभन्दा चाँडो संक्रमणकाल अत्या गर्नका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । राज्यको पुनर्संरचना, निर्वाचन प्रणाली र शासकीय स्वरुपका बिषयमा प्याकेजमा सहमती गर्नुपर्ने नेता पोखरेलको भनाई थियो । सत्तापक्षले कार्तिक–१७ गतेको ९ बुँदे प्रस्ताबलाई परिमार्जन गर्दै ३० दलीय मोर्चाको ९ बुँदे प्रस्तावलाई समेत मिलाए नयाँ ढंगले आए सहमतिको सम्भावना बढि रहेको पोखरेलले दाबी गर्नुभयो । 
पत्रकार सम्मेलनमा एमाओबादी सचिव गिरीराजमणि पोरखेल ।
तस्बिरः हाम्रो खोटाङ डटकम 
दलका पहिलो तहका नेताहरु गम्भीर बने आगामी बैसाख–६ गते अघि नै सहमती दिएर अवरुद्ध संबिधानसभालाई गतिशिल बनाउन सकिने वाताबरण बन्ने उहाँले बताउनु भयो । ‘गतिरोध फुकाउने विषयमा दोश्रो तेश्रो तहका नेताहरुको भुमीका सराहनीय छ,’ संसदीय दलका प्रमुख सचेतक समेत रहेका पोखरेलले भने, ‘तर गाँठो फुकाउनका लागि मूल नेताहरुमा गम्भीर्यता देखिएको छैन ।’ पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिनेक्रममा जिल्ला आएका पोखरेलले आफुहरु तेश्रो संबिधानसभाको पक्षमा नरहेको बताउनु भयो । 
सत्तापक्षले २०७० सालको शक्ती सन्तुलनको आधारमा मात्र समस्या हल गर्न खोजेका कारण अहिलेको गतिरोध देखिएको उहाँले बताउनु भयो । ‘संबिधानसभालाई जनआन्दोलनको जनादेशलाई लागू गर्ने थलोकारुपमा बिकास गर्नु पर्छ,’ पोखरेलले भन्नुभयो, ‘यसलाई संसदजस्तो अल्पमत र बहुमतको खेलमा लान उपयुक्त हुँँदैन ।’ पोखरेलले कम्तीमा बा¥ह बुँदे समझदारी गर्ने दलहरु, मधेशी शक्ती र आदिबासीजनजातीलाई स्वीकार्य हुने संबिधान बनाउनुपर्नेमा जोड दिनुभयो । 
नेता पोखरेलले हिउँदे अधिबेसनसम्म बोलाउन नसकेको भन्दै सत्तापक्षको आलोचना गर्नुभयो । ‘नागरिकले सरकार छ भन्ने अनुभूती गर्न पाएको छैन,’ उहाँले भन्नुभयो, ‘यो सरकारको बारेमा जती आलोचना गरेपछि अपुग हुन्छ ।’