श्रीमानको दाउरा प्रहारबाट गम्भीर घाइते

बैशाख–८, श्रीमानले प्रहार गरेको चिरुवा दाउराले लाग्दा खोटाङमा एक महिला गम्भीर घाइते भएकी छन् । दिक्तेल नगरपालिका–९ घर भइ वडा नम्बर–७ डेरा बस्दै आएका ३२ वर्षीय कर्ण राईले प्रहार गरेको चिरुवा दाउराले लाग्दा उनकी श्रीमती ३४ वर्षीया सबिता राई गम्भीर घाइते भएकी हुन् । 
घरायसी विवादमा भनाभन हुँदा मंगलबार श्रीमानले प्रहार गरेको चिरुवा दाउराले लागेर गम्भीर घाइते बनेकी सबिताको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । दिउसो दुई बजेतिर भएको दाउरा प्रहारबाट बेहोस अवस्थामा रहेकी उनको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाहिर रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर माधव लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “उनको टाउकोमा गहिरो चोट देखिएको छ, उनी हालसम्म बेहोस अवस्थामा रहेकाले थप उपचारका लागि बाहिर रेफर गरिएको हो ।”
श्रीमतीलाई चिरुवा दाउरा प्रहार गर्ने श्रीमान प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई हिरासतमा राखेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । 
राई दम्पतीबीच घरायसी विवादमा भनाभन हुँदा श्रीमानले दाउरा प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । कर्ण यसअघि पनि चोरी मुद्दामा जेल बसेर निस्किएका प्रहरीले जनाएको छ ।