एमाओवादी खोटाङका पूर्व–सेक्रेटरी एमालेमा प्रवेश

बैशाख–११, एकीकृत नेकपा माओवादी खोटाङका पूर्व–सेक्रेटरी प्रकाश चौंलागाई ‘बिक्रम’ एमालेमा प्रवेश गरेका छन् । हाल जिल्ला सदस्य रहेका चौंलागाईले बिहीबार एमाले केन्द्रीय अध्यक्ष केपी ओलीको हातबाट अबिर र फूल माला लगाएर एमाले प्रवेश गरेका हुन् । 
माओवादीले आफ्नो कार्यदिशा बिर्सिएर जनयुद्ध र जनआन्दोलनका सहिदको रगतलाई अवमूल्यन गर्दै गएका कारण पार्टी परित्याग गरेको चौंलागाईले बताएका छन् । सांस्कृतिक बिचलनको आरोपमा साधारण सदस्य समेत नरहनेगरी एमाओवादी जिल्ला कमिटिले कारबाही गरेको दोश्रो दिन नै चौंलागाईले पार्टी परिवर्तन गरेका हुन् । 
पार्टी विधानको धारा १४ विपरित अवसरवाद, साँस्कृतिक अराजक हर्कत देखाएको भन्दै एमाओवादी जिल्ला कमिटिले गत बुधबार कारबाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गरेको थियो । विभिन्न मुद्दामा फसेका उनलाई पटक–पटक सुधार्ने प्रयास गर्दागर्दै पनि नसुध्रिएपछि पार्टीबाट हटाइएको जिल्ला सचिव दुर्गाजयन्ती राईले बताउनुभयो ।
पार्टी प्रवेशपछि मन्तव्य राख्दै चौलागाईले एकीकृत नेकपा माओवादीमा लागेर गल्ती गरिएको उल्लेख गर्नुभएको छ । मन्तव्यकै क्रममा उहाँले भन्नुभयो, “माओवादीबाट मुलुक परिवर्तनको आशा गर्नु व्यार्थ रहेछ, मैले ओढेको बिक्रम नामको मुकुण्डे आजैका दिनबाट फालेर आएको छु ।” 
पार्टी प्रवेश गर्नुअघि नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राई, राप्रपा नेपालका अध्यक्ष जीवनकुमार श्रेष्ठ लगायतका नेताहरुले सार्वजनिक स्थलबाट पार्टी प्रवेश नगर्न पटक–पटक फोन र एसएमएस आएको उहाँले मञ्चबाटै खुलासा गर्नुभयो । उद्घोषकले तीन सय कार्यकर्तासहित एमाले प्रवेश गरेको उद्घोषण गरेपनि चौलागाईले आफ्नो पछाडि पाँच सय कार्यकर्ता रहेको दावी गर्नुभएको छ । 
चौंलागाई जनयुद्धको समाप्ती र शान्ति पुनःस्थापना लगत्तै दिक्तेलमा पहिलोपल्ट तत्कालिन नेकपा माओवादीकातर्फबाट सार्वजनिक हुने नेता हुनुहुन्छ ।