
बैशाख–११, नेकपा एमाले खोटाङको छैठौं जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । सदरमुकाम दिक्तेलस्थित स्थानीय हेलीप्याडमा बिहीबार उद्घाटन भएको छैटौं जिल्ला अधिवेशनको बन्दसत्र कुमारी चलचित्र भवनमा सुरु भएको हो ।
‘स्थायी शान्ति, साझा पहिचान सहितको संघीयता र अग्रगामी संविधान, संवृद्ध खोटाङ र सशक्त एमाले निर्माणको लागि छैठौँ जिल्ला अधिवेशनको बन्दसत्रमा जिल्लाका पाँच सय २५ जना प्रतिनिधिको सहभागिता रहेको एमालेले जनाएको छ । दिउसो एक बजेबाट सुरु बन्दसत्रमा राजनीतिक तथा साँगाठानिक प्रतिवेदनमाथि छलफल भइरहेको एक नेताले जनाएका छन् ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि नेताहरुको सुझावपछि नयाँ नेतृत्व चयनको काम थालिने एमाले स्रोतले जनाएको छ । अब बन्ने नयाँ नेतृत्व सहमतीबाट चयन गर्ने नेताहरुले बताएका छन् ।
पछिल्लो संकेत हेर्दा नेतत्व चयनमा सहमती नहुने अवस्था आएको नेताहरुको आँकलन छ । अध्यक्ष लगायत सबैजसो पदमा धेरै आकांक्षी देखिएकाले सहमती हुने छाँटकाँट नै नरहेको उनीहरुको भनाइ छ ।
निवर्तमान अध्यक्ष बबि चाम्लिङ, सचिव रामप्रसाद दंगाल र क्षेत्रीय अध्यक्ष सुरेन्द्रकुमार राईले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको एक उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार उपाध्यक्षमा नारायणप्रसाद जोशी, खडेन्द्र राई, अकिल राई र गृहबहादुर राईले उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै, सचिवमा देवबिक्रम राई, दीपनारायण रिजाल, कुमार आचार्य र बिष्णुप्रसाद दाहाल तथा उपसचिवमा चर्चबहादुर विश्वकर्मा, सम्बर भुजेल, उपिन राई र जलशेर राईले दावी गरेका छन् ।
अधिवेशनमा सबैले दावी गरेपनि अन्ततः सहमतीमै नयाँ नेतृत्व चयन गरिने स्रोतले जनाएको छ । उसले भन्यो, “सकेसम्म सहमतीको प्रयास गरिनेछ, हुँदै भएन भने, लोकतान्त्रिक विधि अपनाएर भएपनि नेतृत्व चयन गरिनेछ ।”
चाम्लिङको पक्षमा पुराना पुस्ताका नेताहरु देखिएका छन् भने, दंगालको पक्षमा युवा तथा विद्यार्थी देखिएका छन् । दुवै पक्ष उत्तिकै बलिया देखिएकाले चुनाव नै हुने धेरैले अड्कल काटेका छन् ।
सहमतीको नाममा आफू कुनैपनि हालतमा अध्यक्षको पद नछाड्ने चाम्लिङ र दंगालले बताएका छन् । यसमा आ–आफ्नो पक्षका नेताहरुले साथ दिएका छन् ।