बैशाख–१४, जिल्लामा उत्पादन गर्न लागिएको मेवाखोला हाईड्रोपावरको ६० प्रतिशत काम सम्पन्न भएको आयोजना सञ्चालकले जनाएको छ । साप्सु कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवर्धनमा उत्पादन हुन लागेको एक मेगावाट क्षमताको उक्त हाईड्रोपावरको ६० प्रतिशत काम सम्पन्न भएको हो ।
गत २०७१ मंशिरबाट निर्माणको काम थालिएको उक्त हाईड्रोपावर आगामी असोजसम्ममा सञ्चालनमा आउने साप्सु कालिका हाईड्रोपावर कम्पनीका मेनेजिङ डाईरेक्टर अर्जुन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले तीब्र गतिमा काम भइरहेको छ, आगामी असोजसम्ममा सञ्चालनमा ल्याउन सकिन्छ ।”
सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलमा सञ्चालन हुने उक्त हाईड्रोपावर सञ्चालनमा आएपछि जिल्ला लोड सेडिङमुक्त हुने राईको भनाइ छ । उहाँले भन्नुभयो, “उक्त हाईड्रोपावरबाट उत्पादित विद्युत सिधै केन्द्रीय लाईनमार्फत उपभोक्ताको घर–घरमा प्रवाह हुन्छ, यसका लागि केन्द्रीय लाईनको सव–स्टेशन बुइपासम्म पु¥याउन खम्बा गाड्ने र तार टाँग्ने काम पनि सँगसँगै भइरहेको छ ।”
७० प्रतिशत बैंक लगानी तथा ३० प्रतिशत उपभोक्ताको शेयरबाट सञ्चालन गर्न लागिएको हाईड्रोपावर १९ करोड रुपैयाँको लागतमा सम्पन्न हुने जनाइएको छ । यसका लागि सानीमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौंले समेत लगानी गरेको छ ।
जिल्लाबासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर संकलन थालिएको आयोजनाका लागि हालसम्म साँढे चार करोडको शेयर संकलन भइसकेको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “शेयर खरिद गर्नेको घुइचो छ, जिल्लाबासीको उत्साहले हामीलाई समेत सहज भएको छ ।”
जिल्लाकै पहिलो हाईड्रोपावरका रुपमा सञ्चालन गर्न लागिएको मेवाखोला हाईड्रोपावर दिक्तेल नगरपालिका–१० मा पर्ने मेलाखोला दोभानबाट उत्पादन गर्न लागिएको हो । उक्त हाईड्रोपावरका लागि तीन किलोमिटर टाढाबाट पानी ल्याउने तयारी गरिएको छ ।
हाईड्रोपावरका लागि आवश्यक केही–केहीबाहेक अधिकांश सामाग्री ढुवानीको काम समेत सकिएको जनाइएको छ । सुनकोसीको फोक्सिङटारको अस्थायी बेलिब्रीज निकाल्नुअघि उक्त सामान पनि ल्याइसकिने आयोजनाले जनाएको छ ।
यसका लागि चारवटा कम्पनीले कन्ट्रयाकमा काम गरिरहेका छन् । हाईड्रो मेकानिकलका लागि महाशक्ति हाईड्रोपावर कम्पनी, ट्रान्समिशनका लागि शाह ईलेक्ट्रोनिक प्रालि, सिभिलका लागि पेसीफिक बिल्डर्स र ईलेक्ट्रोमेकानिकलका लागि चिन्सीले जिम्मा लिएका छन् ।