खोटाङ, बैसाख १४ । जिल्ला दैबीप्रकोप उद्धार समिति खोटाङले भूकम्प पिडितको उद्धारका लागि सरकारी कर्मचारीलाई कार्यक्षेत्र र कार्यालय नछाड्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको समितिको बैठकले भूकम्पले घर भत्किएर बिस्थापित भएका सर्वसाधारणको उद्धार तथा क्षतीको बिवरण संकलनकालागि आ–आफ्नो कार्यक्षेत्र र कार्यालय नछाड्न निर्देशन दिएको हो । समितिले जिल्लाका सरकारी कार्यालयका कर्मचारी बाहेक हरेक गाबिसका गाबिस सचिव, श्रोतव्यक्ती, शिक्षक लगायत स्थानीय सरकारी कार्यालयका कर्मचारीलाई समेत आफ्नो कार्यालय बाहिर नजान भनेको छ । कार्यालय बाहिर रहेको भएपनि तत्काल कार्यालयमा पुग्न कर्मचारीलाई समितिको निर्देशन छ ।
गाबिस लगायतका स्थानीय सरकारी कार्यालयमा आवद्ध कर्मचारीलाई भूकम्पले गाउँमा पु¥याएको क्षतीको विवरण संकलन गरेर उपलव्ध गराउन निर्देशन दिइएको जिल्ला दैबीप्रकोप उद्धार समितिले जनाएको छ ।
समितिको निर्देशन विपरित कार्यक्षेत्र र कार्यालयमा नजाने कर्मचारीलाई नियम अनुशार कारबाही गरिने समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले चेतावनी दिए । बैठकले भूकम्पको धक्काका कारण भवनहरु चर्किएका कारण आगामी बिहिबारसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।