बैशाख–१६, एनसेलको रिपिटर टावरमा परेको चट्याङ लागेर खोटाङमा एक जनाको ज्यान गएपछि मृतकका आफन्त आक्रोशित भएका छन् । घर छेउमा निर्माण गरिएको एनसेल मोवाईलको रिपिटर टावरमा परेको चट्याङ लागेर दुर्छिम–५ का १४ वर्षीय योगेन्द्र राईको ज्यान गएपछि उनका आफन्त आक्रोशित भएका हुन् । 
एनसेल प्रति आक्रोशित आफन्तले मंगलबार पत्रकार सम्मेलन गरेर मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको माग गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै मृतकका आफन्त सइन्द्र राईले भन्नुभयो– “हामीमाथि यत्रो अन्याय हुँदा पनि कम्पनीले सहानुभुति समेत दिएको छैन । यदि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गरिएन भने रिपिटर टावर भाँचेर फाली दिन्छौं ।” उहाँले थप्नुभयो– “एनसेल कम्पनी सेवामुखी भन्दा पनि कमाउ धन्दामा लागेको छ, यसप्रति राज्यले ध्यान नदिए अझ धेरै क्षति हुने निश्चित छ ।”
स्थानीयका अनुसार मृतकको घरदेखि करिब १५ मिटरमा एनसेल मोवाईलको रिपिटर टावर रहेको छ । उक्त रिपिटर टावरमा गत बैशाख–१३ गते परेको चट्याङ लागेर गम्भीर घाइते बनेका योगेन्द्रको उपचारको क्रममा ज्यान गएको थियो । 
चट्याङले उनीसँगै तीन परिवारका सात घाइते भएका छन् । ५३ वर्षीय हिरालाल राई,  १४ वर्षीया हर्षका राई, ५२ वर्षीय गइन्द्र राई, आठ वर्षीया एलिना राई, १२ वर्षीय शिव राई र ३० वर्षीया भविका राई गम्भीर घाइते भएका हुन् । 
घाइतेमध्ये हिरालाल र हर्षका राईको थप उपचारका लागि बिराटनगर पु¥याइएको आफन्तले जनाएको छ । बिराटनगरमा उपचाररत हर्षकाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । 
आइतबार दिउसो आएको महाभूकम्पपछि एकै ठाउँ बसिरहेका उनीहरुलाई एकैसाथ चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । मृतक परिवारलाई जिल्ला दैवीप्रकोप उद्दार समितिले ४० हजार आर्थिक सहयोग गरेको छ ।