बैशाख–२१, भूकम्पले पु¥याएको क्षतिका हिसाबले खोटाङलाई ‘कम प्रभावित’ क्षेत्रकारुपमा राखिएकोप्रति जिल्लाबासीले असन्तुष्टी व्यक्त गरेका छन् । भूकम्पले मानवीय क्षति नभएपनि जिल्लामा करोडौंको भौतिक क्षति भएको भन्दै कम प्रभावितमा राखेर राज्यले आपूुहरुलाई अन्याय गरेको बताएका छन् । 
कसैले ज्यान गुमाउनु नपरेपनि सर्वसाधारणको हजारौँ घर, सरकारी कार्यालय, मन्दिर लगायत निजी तथा सार्वजनिक सम्पत्ती बिनास भएका कारण राज्यले जिल्लालाई संकटग्रस्त क्षेत्रमा समेट्नुपर्ने जिल्लाबासीको माग छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लालाई भूकम्पले दशक पछाडि धकेलेको भन्दै ‘कम प्रभावित’ भन्न नहुने एकीकृत नेकपा माओवादी खोटाङका सचिव दुर्गाजयन्ती राईले बताउनुभयो । पूर्व सभाषद् समेत रहनुभएकी राईले भन्नुभयो, “ठूलो मात्रामा भौतिक क्षति भएपनि जिल्लालाई कम प्रभावित क्षेत्र मानिएकोप्रति हामी दश राजनीतिक दलले प्रशासनमार्फत उच्चप्रभावित क्षेत्रमा राख्न सरकारको ध्यानाकर्षण गराउने संयुक्त निर्णय गरेका छौं, सम्भवतः मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइनेछ ।”
शनिबारको भूकम्पले चर्किएका घर लगायतका भौतिक संरचना दोश्रो दिनको धक्काले ढलेका थिए, भने पहिलो दिन नचर्किएका संरचनाहरु दोश्रो दिनको भूकम्पले चर्किएका छन् । जिल्ला दैवीप्रकोप उद्दार समितिका अनुसार भूकम्पमा अन्यत्र बसोबास गरिरहेका केही खोटाङबासीले ज्यान गुमाउनु परेपनि जिल्लाभित्र कसैको ज्यान गएको छैन । 
भूकम्पले लामीडाँडा, नुनथला, खार्पा, कुभिण्डे, सुङ्देल, सल्ले, मंगलटार, सुन्तले, देविस्थान, जलेश्वरी लगायतका ६५ बढि गाविस प्रभावित छन् । बिनासकारी भूकम्पले भत्किएका, बिग्रिएका संरचनालाई पुर्ननिर्माण गरी यथास्थानमा ल्याउन दशक समय लाग्ने स्थानीयको अनुमान छ ।
छिमेकी जिल्ला ओखलढुंगा, सोलुखुम्बु, भोजपुर लगायतका छिमेकी जिल्लाको तुलनामा खोटाङमा पनि बढि भौतिक क्षति भएका कारण जिल्लालाई संकटग्रस्त क्षेत्र सरह प्राथमिकता दिनुपर्ने नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । ‘मान्छेको मृत्यु’ नभएकै कारण जिल्लालाई कम प्रभावितमा राखिएको राजनीतिक दलदेखि स्थानीय सबैको बुझाइ छ । सर्वसाधारणले ज्यान गुमाउनु नपरेपनि घोषित संकटग्रस्त क्षेत्रमा सरह जिल्लामा भौतिक क्षति भएको एमाले अध्यक्ष बबी चाम्लिङको दाबी छ । भूकम्पले पु¥याएको क्षतिको विषयमा सरकारले बनाएको मापदण्डमा पुर्नबिचार गरिनुपर्ने चाम्लिङले बताउनुभयो । 
जिल्लालाई प्राथमिकतामा नराखेको भन्दै दल र गैर–संघसंस्थाले जिल्लाका भूकम्प पीडितको सहयोगका लागि शनिबार र आईतबार घरदैलो गरेर आफै तीन लाख बढि राहत रकम संकलन गरिसकेका छन् । 
दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाका नुसार भूकम्पले खोटाङका एक हजार पाँच सय ८० घर पूर्णरुपमा भत्किएका छन् । घर भत्किँदा दश हजार दुई सय २४ व्यक्ति बिस्थापित भएका छन् । भूकम्पले पु¥याएको क्षतिको बिबरण अझै पनि आउनेक्रम जारी रहेको प्रजिअ सापकोटाको भनाइ छ । घर भत्किएपछि पन्ध्र सय सर्वसाधारणको बास पालमुनि भएको छ । 
जिल्ला दैवीप्रकोप उद्दार समितिका अनुसार जिल्लाका १७ वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ । ५२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । एउटा मन्दिर पूर्णरुपमा र एक वटा मन्दीरमा आंशिक क्षति पुगेको छ । आधा दर्शन घाइते भएका छन् ।