बैशाख–२४,  भूकम्पले ठूलो क्षति पु¥याएको खोटाङ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल राहतको व्यवस्था गरिदिन सरकार समक्ष माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार अबेरसम्म बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले गृहमन्त्रालय अन्तरगत विपद् व्यवस्थापन शाखा समक्ष यस्तो माग गरेको हो । 
गत बैशाख–१२ र १३ गतेको महाभूकम्पले जिल्लामा मानवीय क्षति नगरेपनि ठूलो मात्रामा भौतिक संरचना ध्वस्त बनाएकाले तत्काल संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेर आवश्यक राहतको व्यवस्था गरिदिन सरकार समक्ष माग गरिएको बैठकमा सहभागी कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य संकटग्रस्त जिल्लाको तुलनामा खोटाङमा पनि कम क्षति भएको छैन, राज्यको प्राथमिकतामा नपरेकाले हालसम्म राहतको प्याकेज आउन नसकेको हामीले महशुस गरेका छौं । त्यसैले संकटग्रस्त घोषणा गरेर तत्काल राहत उपलब्ध गराउन सरकार समक्ष माग गरिएको हो ।”
सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागीको हस्ताक्षर सहितको निर्णय प्रतिलिपी सहित मागपत्र गृहमन्त्रालय अन्तरगत विपद् व्यवस्थापन शाखामा पठाइएको जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा दुई हजार एक सय दशभन्दा बढि घर पूर्णरुपमा क्षति भएका छन्, त्यसमा बस्ने १२ हजार पाँच सय ३७ जना विस्थापित भएकाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै तत्काल राहतको व्यवस्था गरिदिन नेपाल सरकार समक्ष अनुरोध गरेका छौं ।”
भूकम्पले जिल्लाका चार हजार नौं सय ८६ घर चर्किएको दैवीप्रकोप उद्दार समितिले जनाएको छ । समितिका अनुसार १८ वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएका छन् भने, ५५ वटा चर्किएर कार्यसञ्चालन गर्न सक्ने अवस्थामा छैन । 
वर्षाद्को समय भएकाले चर्किएका घरका सर्वसाधारण पनि ढुक्कले घरभित्र बसोबास गर्न सक्ने अवस्था नरहेको नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति कुमारसिं बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “घर ढलेका त विस्थापित नै छन्, चर्किएका घरमा बसोबास गर्ने सर्वसाधारण पनि त्रासदीपूर्ण अवस्थामा बसेकाले संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष माग गरिएको हो ।”
भूकम्पले जिल्लामा पु¥याएको क्षतिको विवरण अझै आउन बाँकी रहेको प्रजिअ सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक दृष्टिले पनि खोटाङ जिल्ला बिकट भएकाले क्षतिको विवरण हालसम्म आउन नसकेको हो, यसमा तत्काल जिल्ला तहको राहत बितरण गर्न र क्षतिको विवरण संकलन गर्न सबै संयन्त्र परिचालन गरिएको छ ।”
जिल्लाका भूकम्प विस्थापितका लागि १३ वटा समूह बनाएर राहत वितरण टोली परिचालन गरिएको सापकोटाको भनाइ छ । उहाँका अनुसार अति क्षतिग्रस्त ठाउँहरुमा नेपाली सेना र सशस्त्र प्रहरीको क्याम्प नै खडा गरिएको छ । 
विस्थापितका लागि हालसम्म केन्द्रबाट ६० लाख रुपैयाँ राहत रकम आएको जनाइएको छ । पाल, गुन्द्री, कम्बल लगायतका सामाग्री प्रयाप्त नहुँदा वितरण टोलीलाई असहज भएको सापकोटाको भनाइ छ । 
जिल्लाबाट प्रर्याप्त मात्रामा राहत सामाग्री आइनपुग्दा कतिपय परिवार खुला आकाशमुनी बस्न बाध्य रहेको स्थानीयको भनाइ छ । भूकम्पले घर तथा घरमा भएका सम्पूर्ण सामाग्री ध्वस्त भएपनि हालसम्म कोही आएर क्षतिको विवरण समेत लिने काम नगरेको महेश्वरी–८ का नन्दीकेशर वनले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी टोली त हाम्रो गाउँमा कहिले पो आइपुग्थ्यो र ! जनताको प्रतिनिधि हौं भन्ने राजनीतिक दलका नेताहरु समेत गाउँ नआएपछि कसलाई हाम्रो कुरा सुनाउनु र राहत पाइएला भन्ने आशा राख्नु ?”