खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर तथा नेकपा एमालेका नेता दिप नारायण रिजालले मिडियाको नाममा मनलाग्दी निर्णय गर्दै आफू निकटलाई करिब २७ लाख वितरण गरेको खुलेको छ ।

नगरपिता उपमा दिइने निर्वतमान नगरप्रमुख रिजालले पद र शक्तिको दुरुपयोग गरेर आफू निकटलाई मनलाग्दी रकम बाढेको र कतिपय मिडियालाई ५ लाखसम्मको भुक्तानी दिएको पाइएको छ । यसरी भुक्तानी दिँदा रिजालले सिमित मिडिया र व्यक्तिलाई प्राथमिकता राखेको पाइएको छ ।

कतिपय उनी र उनको पार्टी निकटका मिडिया तथा आफ्नो कमीकमजोरी ढाकछोप गर्न पनि उनले मनलाग्दी रकम वितरण गरेको समेत उनीमाथि आरोप छ ।

हाम्रोखोटाङ डटकमलाई प्राप्त विवरण अनुसार रिजालले गत वैशाख ५ गते विदाई हुँदै गर्दा प्रेस चौतारी नेपालका केन्द्रिय कोषाध्यक्षले सञ्चालन गरेकाे जनबोली न्यूज नेटवर्क प्रालिलाई निर्णय नै गराएर ४ लाख ९९ हजार ४ सय रुपैयाँ वितरण गर्न भ्याएका छन् । ५ लाख भन्दा माथिको रकम वितरण गर्दा टेण्डर प्रक्रिया अपनाउनुपर्ने कानुनी झन्झटबाट बच्न उनले पाँच लाख भन्दा केही कम रकम वितरण गरेको पाइएको हो ।

सोही दिन रिजालले प्रेस चौतारीका एक केन्द्रीय सदस्यले सञ्चालन गरेको हलेसी न्यूजलाई पनि ९७ हजार ४ सय ६० रुपैयाँ र प्रेस चौतारी जिल्ला सचिवले सञ्चालन गरेको अनलाइन आवाज मिडिया प्रांलिलाई २ लाख रुपैयाँ बाँडेको पाइएको छ ।

रिजाल आफैंले तोक आदेश जारी गर्दै श्रव्यदृश्य सञ्चार माध्यम शिर्षकमा प्रभाव न्यू नेटवर्क र समयोजन खबरलाई कात्तिक ११ गते १ लाख ३० हजार वितरण गरेका छन् । सोही दिन समुन्नत मिडिया प्रा.लि र हलेसी सूचना तथा सञ्चार सहकारीलाई ३ लाख ६६ हजार ४ सय ६० रुपैयाँ वितरण गरेका छन् । रिजालले  हलेसी न्यूजलाई मंसिर ७ गते पनि २ लाख ९९ हजार ४ सय ५० रुपैयाँ वितरण गरेका छन् ।

रिजालले समुन्नत मिडिया प्रा.लिलाई पुनः दोस्रो पटक पुस १९ मा १ लाख ९० हजार ३ सय वितरण गर्न भ्याएका छन् । समुन्नत मिडिया कसले सञ्चालन गरेको हो भनेर अहिले खोटाङकै पत्रकारहरुमा खोजीको विषय समेत बनेको पाइएको छ । निवर्तमान मेयर रिजालले  अनलाइन आवाज मिडियालाई पुनः दोस्रो पटक ६० हजार रुपैयाँ वितरण गरेका छन् । नगरप्रमुख रिजालले बिरासत मिडिया प्रा.लिलाई पनि फागुन र १० र १५ गते दुई पटक गरेर ६०/६० हजार वितरण गरेका छन् ।

मिलेमतो

नगरपालिकाको श्रव्यदृश्य सञ्चार माध्यम शिर्षकको रकममा तत्कालिन नगरप्रमुख, लेखा र केही सिमित सञ्चारमाध्यममा आवद्ध व्यक्तिको मितेमतोमा रकम निकासी गरेको देखिएको छ ।
जस अनुसार जनबोली, हलेसी न्यूज, बिरासत मिडिया, अनलाइन आवाज र प्रभाव न्यूज लगायतले कुनैले एक पटकमा त कतिपयले पटक–पटक गरेर ठूलो मात्रामा रकम प्राप्त गरेको पाइन्छ । यसरी बिल भुक्तानीको क्रममा कतिपयको हकमा लेखाको समेत तोक रहेको पाइएको छ ।
प्रभाव न्यूज नेटवर्कले नयाँ नगरप्रमुख आएपछि पनि जेठ २४ मा १ लाख ५० हजार रुपैयाँ लिएको पनि पाइएको छ । प्रभाव न्युज प्रेस युनियन जिल्ला अध्यक्षले सञ्चालन गरेका छन् ।  प्रभाव न्यूज र समयोजन खबरले गत असोजमा १ लाख ३० हजार लिएको प्राप्त विवरणमा उल्लेख छ । समन्नुत मिडियाले दुई पटक, बिरासत मिडियाले दुई पटक, जनआवाज मिडियाले पनि दुई पटक रकम लिएको पाइएको छ ।

पक्षपाती नीति

निवर्तमान मेयर रिजाल र उपमेयर विनादेवी राई दुवै नेकपा एमालेबाट निर्वाचित थिए । उनीहरुले मिडियाको नाममा पक्षपाती नीति अवलम्बन गरेको पाइएको छ । मापदण्ड नै नबनाई जथाभावी रकम वितरण गरेको पाइएको छ भने आफू निकटका र सिमित व्यक्तिलाई मात्र पटक पटक भुक्तानी दिएको पाइएको छ । जिल्लाबाट सञ्चालित अन्य सञ्चारमाध्यमलाई बेवास्ता गरिएको पाइएको छ ।
मिडियालाई सूचना तथा सन्देश उपलब्ध गराउने र भुक्तानी गर्ने भएपनि जिल्लाकै अन्य पालिकाले सबै भन्दा पहिले जिल्लाबाट सञ्चालिन सञ्चारमाध्यमलाई सूचिकृत नै गरेर विज्ञापन तथा सूचना सन्देश उपलब्ध गराउने गरेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भने मिलेमतो र सेटिङमा यस्तो कार्य भएको गुनासो रहेको छ ।
जानकारहरु यो चालु आर्थिक वर्षमा मात्र नभएर विगतका वर्षहरुमा पनि यस्तै कार्य हुँदै आएका बताउँछन् ।