बैशाख–२८, जिल्ला दैवीप्रकोप उद्दार समिति खोटाङले जिल्लाका भूकम्पपीडितको यथार्थ विवरण जुटाउन पुर्नअनुगमन सुरु गरेको छ । अघिल्लो टोलीबाट वास्तविक पीडितको पहिचान हुन नसकेको गुनासो आएपछि जिल्लामा पुर्नअनुगमनको काम सुरु गरिएको हो ।
गाविस सचिवको नेतृत्वमा स्थानीय राजनीतिक दल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र शिक्षक सम्मिलित टोलीले पुर्नअनुगमनको काम थालेको जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि हतारमा गरिएको काममा कुनै कमजोरी भएको हुन सक्छ, त्यसैले पुर्नअनुगमन गरेर वास्तविक पीडितको विवरण संकलनको काम सुरु गरिएको हो ।”
यसअघि सम्बन्धित गाविस सचिव र प्रहरीको रिपोर्टको आधारमा जिल्लामा पीडितको विवरण संकलन गरिएको थियो । उक्त विवरण पहुँचवाला, सुगम र सदरमुकाम आसपासबाट मात्र आएको गुनासो समितिको बैठकमा आएको थियो ।
भूकम्पले घर तथा घरमा भएका सम्पूर्ण सामाग्री ध्वस्त भएपनि हालसम्म कोही आएर क्षतिको विवरण लिने काम नगरेको महेश्वरी–८ का नन्दीकेशर वनले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी टोली त हाम्रो गाउँमा कहिले पो आइपुग्थ्यो र ! जनताको प्रतिनिधि हौं भन्ने राजनीतिक दलका नेताहरु समेत गाउँ नआएपछि कसलाई हाम्रो कुरा सुनाउनु र राहत पाइएला भन्ने आशा राख्ने ?”
बैशाख–१२ गतेको भूकम्पले जिल्लामा दुई हजार एक सय दश घर पूर्णरुपमा क्षति भएको दैवीप्रकोप उद्दार समितिले जनाएको छ । समितिका अनुसार एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा चार हजार नौं सय ८६ घर चर्किएका छन् । 
प्रजिअ सापकोटाका अनुसार जिल्लाका १८ वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएका छन् भने, ५५ वटा चर्किएर कार्य सञ्चालन गर्न नहुने अवस्थामा रहेका छन् । भूकम्पले जिल्लामा मानवीय क्षति नगरेपनि ठूलो मात्रामा भौतिक संरचना ध्वस्त बनाएको जनाइएको छ । 
भूकम्पबाट विस्थापितका लागि हालसम्म केन्द्रबाट ६० लाख रुपैयाँ राहत रकम आएको जनाइएको छ । पाल, गुन्द्री, कम्बल लगायतका सामाग्री प्रयाप्त नहुँदा राहत वितरण टोलीलाई असहज भएको सापकोटाले बताउनुभयो ।