जेठ–२ । घरमा कोही नभएको मौकामा जिल्लाका दुईवटा पसल चोरी भएका छन् । भूकम्पको डरले घर छाडेर बाहिर बसेको मौकामा सदरमुकाम दिक्तेलस्थित अम्बागाछिका टंकप्रसाद आचार्यको कपडा पसल र बैंकचोकका प्रेमकुमार बजिमयको किराना पसल एकै रात चोरी भएका हुन् ।

आचार्यको कपडा पसलको ढोकाको ताला फोरेर पसलमा भएका कपडामध्ये कुर्ता–सुरुवाल ४ पिस, ज्याकेट २ पिस, बच्चाको पेन्ट ५ पिस, सट रेडिमेड ७ पिस, जुता ७ पिस, आउटर ७ पिस, तथा अन्य कपडा र नगद तिनहजार रपैयाँसहित अन्दाजी ७४ हजार ४ सय ५० रुपैयाँ बरावको कपडा तथा नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सोही राती  बजिमयको खुद्रा पसलको पनि ढोकाको ताला फोरेर बाकसमा रहेको पाँच हजार नगद सहित खुद्रा सामान चोरी भएको प्रहरीले बताएको छ ।

दुबै ब्यापारीका पसल चोरी गर्ने समुह एउटै रहेको प्रहरीले जनाएको छ । भूकम्पको त्रासका कारण बजारबासी घर तथा पसल बन्द गरेर सुत्नका लागि खुला चौरमा गएको बेला चोरले मौका छोपेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । चोरी गर्ने समूह जिल्ला बाहिरको नभएको प्रहरीको अनुमान छ ।