
जेठ–७, भूकम्पले जमिन, मन र मस्तिष्क एकै साथ हल्लाइरहेकै समयमा सामाजिक रुपान्तरणका लागि नाटकबाट सचेतना फैलाउन तल्लिन एक हुल खोटाङे नाट्यकर्मीहरु जुर्मुराएका छन् । सचेतनामुलक सडक नाटक तथा नाटकमा अभिनय गरेर दर्शकका मन जित्न सफल जिल्लाका युवा कलाकारहरु ‘भ¥याङ’ नाट्य समूह स्थापना र दर्ता गरी गठित हुँदै जुर्मुराएका हुन् ।
भूकम्प गइरहेकै समयमा प्रकाश रिजालको अध्यक्षतामा हालै गठित ११ सदस्यीय ‘भ¥याङ’ नाट्य समुहले समसामयिक विषयवस्तु समेटिएको नाटक ‘झुपडीको व्याथा’ मञ्चन गर्दै सार्वजानिक हुने भएको छ । आगामी ११ गते सदरमुकाम दिक्तेलस्थित समीक्षालय हलमा साहित्यकार मेम्वर राईको नाटक ‘झुपडीको व्याथा’ मञ्चन गर्दै समूह सार्वजानिक हुने समुहका कोषाध्यक्ष योगिन राईले जानकारी दिनुभयो ।
भूकम्पले त्रसित वनाएको मनहरुलाई सामान्यतर्फ फर्काउन नाटक मञ्चन गर्न लागिएको राईको भनाइ छ । जिल्लामै पहिलोपल्ट गठित नाट्य समूहले भूकम्प सम्बन्धी विभिन्न प्रहसन तथा सडक नाटक समेत प्रस्तुत गर्ने जनाइएको छ । जिल्लामा हालसम्म प्रचलनमा नरहेको नाट्य विद्यालाई सशक्त बनाउदै रङ्गमञ्च र ललितकलालाई प्रोत्साहित र स्थापित गराउने उद्देश्यका साथ गठित समूहले कलाका माध्यमबाट जिल्लामा रचनात्मक तथा सिर्जनात्मक कामहरु गर्ने समूहका अध्यक्ष प्रकाश रिजालको भनाइ छ ।
गठित नाट्य समूहले जिल्लामा मासिकरुपमा हरेक विषयमा सन्देशमुलक नाटक देखाउने रिजालले जानकारी दिनुभयो । अडियो सुचनाले मात्र समाजमा प्रवाह हुने सन्देश अधुरो हुने हुनाले प्रत्यक्ष नाटकीय रुपमा प्रबाह गर्न सकिए बढि प्रभावकारी हुने भएकाले नाट्य समूहको आवश्याकता देखिएको समूहले जनाएको छ ।
जिल्लामा शिक्षा, स्वास्थ्य, राजनीति, बेरोजगार लगायतका समसामयीक बिषयलाई नाटकका माध्यमबाट उजागर गरिने समूहले जनाएको छ । पछि थप गर्नेगरी गठन गरिएको नाट्य समूहको उपाध्यक्षमा राजेन्द्र ढुङ्गाना, सचिवमा अंकिता राई, सहसचिवमा लक्ष्मण राई र कोषाध्यक्षमा योगीन राई रहेका छन् । त्यस्तै सदस्यमा सञ्जिब राई, यसोधा राई, ममता राई, जमुना राई, सुशिला राई, कबि राई लगायत छन् ।