जेठ–१४, खोटाङमा अवरुद्ध विद्युत पाँच दिनपछि सुचारु भएको छ । ठूलो हावाहुरीले पोल ढल्दा शनिबारदेखि अवरुद्ध विद्युत बिहिबार दिउँसोदेखि सुचारु भएको हो । हावाहुरीले सदरमुकाम दिक्तेलको त्रिवेणीचोक, हाटडाँडा, नेर्पा, खाल्ले, खानीडाँडा, मात्तिम, ओख्रेडाँडागाउँ लगायतका स्थानका भाँचिएको पोल मर्मतपछि बिद्युत सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ ।
उदयपुरको रसुवादेखि दिक्तेलबीचको ३३ केभी प्रशारण लाइनमा हावाहुरीले क्षती पु¥याएका कारण विद्युत अवरुद्ध हुँदा जिल्लाका ४० बढि गाबिसका स्थानीय मारमा परेका थिए । यस्तै, जिल्लाका दुई वटा सामुदायीक रेडियोको प्रशारण र तीन वटा साप्ताहिक पत्रिका प्रकाशनमा समेत बाधा पुगेको छ । हावाहुरी र चट्याङका कारण कतिपय स्थानमा विद्युतको तार बेरिएका थिए भने, छोरम्बु, लप्याङ, दोर्पाचिउरीडाँडा, खाल्ले, सोल्मा, बाम्राङ, ओख्रेडाँडागाउ, मात्तिम लगायका ठाँउमा रुख ढलेर एलडि तार छिनेको थियो ।
टेलीफोन अझै अवरुद्ध
हावाहुरीले टावर ढालेपछि खोटाङको दक्षिणी क्षेत्रमा टेलीफोन सेवा पनि अवरुद्ध भएको छ । शनिबार साँझको हावाहुरीका कारण काहुले र चिसापानी गाबिसकोबीचमा रहेको हुम्मापोखरीस्थित स्काई तथा एनटिसी फोनको टावर ढलेपछि दक्षिणी क्षेत्रका २२ भन्दा बढि गाबिसमा टेलीफोन सेवा ठप्प भएको हो ।
हावाहुरीले टावर ढलेपछि काहुले, चिप्रिङ, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, देविस्थान, पौवासेरा, फाक्टाङ, सुन्तले लगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही गाविसमा समेत सञ्चार सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।