जेठ–१७, हावाहुरी र भारी वर्षाका कारण लघुजल बिद्युत आयोजनाको पोल र नहरमा क्षती पुगेपछि खोटाङको बोपुङका स्थानीय मारमा परेका छन् । गत जेठ–९ गते आएको ठूलो हावाहुरीले पोल लडाउँदा र वर्षापछि गएको पहिरोले नहर भत्काउँदा बोपुङ अन्धकार बनेको हो । 
२०७० साल बैसाख–१२ गतेबाट सञ्चालनमा ल्याइएको १९ किलोवाट क्षमताको दोस्रो छिन्नमस्ता लघुजलविद्युत आयोजना बन्द हुँदा गाबिसका २५० घरधुरी अन्धकारमा बस्न बाध्य भएको आयोजनाका अध्यक्ष राजकुमार राईले बताउनुभयो । स्थानीयका अनुशार हावाहुरीले लघुजलबिद्युत आयोजनाको २० वटा फलामे पोलहरु ढलेका छन् भने वर्षाका कारण नहर पहिरोले भत्काइदिएको छ । 
तत्काल मर्मत गर्ने रकम अभावमा विद्युत सुचारु गराउन नसकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । ‘पोल र नहरमा क्षती पुग्दा १० लाख बराबरको क्षती पुगेको अध्यक्ष राईले जनाउनुभयो । मर्मत गर्न उपभोक्ता समितिसँग रकम छैन,’ समितिका अध्यक्ष राईले भन्नुभयो, ‘हामी अन्धकारमा बस्न बाध्य बनेका छौँ ।’